काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेश संसदीय दलले सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार राति अबेर बसेको बैठकले प्रदेश सरकार गठनको गणितीय चलखेलमा सहभागी नहुने र सरकारमा जाने दौडबाट बाहिर रहने निर्णय सर्वसम्मत रूपमा गरेको हो ।
बैठकले राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय र निर्देशनअनुसार बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णय अनुमोदन गरेको जनाएको छ ।
यसअघि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले पनि वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने नीति लिएको थियो। त्यसैअनुसार बागमती प्रदेश संसदीय दलले पनि सरकारमा नजाने निर्णय गरेको हो ।
यो निर्णयसँगै नेपाली कम्युनिस्ट पार्टी र एमालेबीचको सहमति बागमती प्रदेशमा भने तत्काल कार्यान्वयन नहुने देखिएको छ ।एमाले र नेकपाबीच तीनबुँदे सहमति भएर बागमती सरकार एमालेले लिने समझदारी बनेको थियो । तर गणितले साथ नदिएपछि बागमती प्रदेशमा सहमति अलपत्र परेको हो ।
१०४ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५३ सांसद चाहिन्छ । नेकपासँग २६ र एमालेसँग २५ सांसद मात्रै छन् । हाम्रो नेपाली पार्टी वर्तमान सरकारमा सामेल भइसकेको छ । अब नेमकिपाले साथ दिएमा मात्र बागमतीमा कम्युनिस्टको सरकार बन्छ । नेमकिपासँग तीन सांसद छन् । जसले नेकपा र एमाले सरकार बन्न सहयोग पुग्छ ।





