काठमाडौं । राप्रपाले समानुपातिक बन्दसूचीमा रहेकामध्ये चार उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । आइतबार बसेको राप्रपा पदाधिकारी बैठकले खसआर्य महिला र पुरुष, मुस्लिम र जनजाति महिला गरी चारजनाको नाम सिफारिस गरेको हो ।
जसमा भरत गिरी खसआर्य, ताहिर अली मुस्लिम, खुस्बु ओली खस आर्य महिला र सरस्वती लामा जनजाति महिला छन् ।
राप्रपा हिन्दू राष्ट्रको पक्षमा भए पनि समानुपातिकमा मधेशी, दलित, थारू कोटा काटेर मुस्लिमलाई समानुपातिक सांसद बनाएको भन्दै आलोचना भइरहेको छ । राप्रपाले प्रत्यक्षमा एक सीट जितेको छ ।
यस्तै, श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चारजनाको नाम छनोट गरेर टुंगो लगाएको छ । श्रम संस्कृतिको आइतबार बसेको केन्द्रीय समिति बैठकले चारजनाको नाम छनोट गरेर टुंगो लगाएको हो ।
पार्टी प्रवक्ता सत्य घलेका अनुसार आइतबार बसेको चारजनाको नाम टुंगो लगाएर निर्वाचन आयोगलाई पठाउन लागिएको बताए ।
समानुपातिक सांसद बन्नेहरुमा आदिवासी जनजाति पुरुषबाट सुनसरीका पूर्ण लिम्बू, मधेशीबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्यबाट सुनसरीकी अम्बिकादेवी संग्रौला र दलितबाट सुर्खेतकी राधिका रम्तेल छन् ।







