काठमाडौँ । राजधानीको केन्द्र मानिने माइतीघर मण्डला क्षेत्र सामान्य वर्षा हुँदा पनि जलमग्न हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ ।
सिंहदरबार, सर्वोच्च अदालत, विभिन्न मन्त्रालय तथा कूटनीतिक नियोग जाने मुख्य सडक नै जलमग्न भएपछि सर्वसाधारणदेखि विशिष्ट व्यक्तिसम्म प्रभावित हुँदै आएका छन् ।

त्यस क्षेत्रमा समान्य वर्षामा पनि सडक जलमग्न हँुदा पैदल यात्री र सवारीसाधन आवतजावत तथा ट्राफिक जामको समस्या, सडक दुर्घटनाको जोखिम हुने गरेको छ । दीर्घकालीन रुपमा समस्या समाधानका लागि ठोस पहल र नीति नबनाइँदा बर्सेनि डुबानको समस्या बल्झिरहेको छ ।

ADVERTISEMENT

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि ढल र आकाशेपानी निकासका लागि छुट्टाछुट्टै पाइप प्रणाली निर्माण गरिने बताइन् ।

उनले अहिले अधिकांश स्थानमा ढल र वर्षाको पानी एउटै प्रणालीबाट बगाइने भएकाले सामान्यभन्दा बढी वर्षा हुनासाथ निकास प्रणालीले भार धान्न नसक्ने अवस्था सिर्जना भएको बताइन् । त्यस्ता समस्या हटाउन तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि महानगरले पहल गरिरहेको बताउँदै उनले गुरुयोजना बनाएर काम गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

ADVERTISEMENT

माइतीघर डुबानको मुख्य कारण पुरानो र साँघुरो ढल प्रणाली, वर्षाको पानी र ढल एउटै प्रणालीबाट निकास गर्ने संरचना, अनियन्त्रित सहरीकरण तथा ढलमाथिको अतिक्रमण रहेको अध्ययनले देखाएको छ । जलवायु परिवर्तनका कारण छोटो समयमा अत्यधिक वर्षा हुने क्रम बढ्दै जाँदा विद्यमान पूर्वाधारले पानीको चाप धान्न नसक्दा डुबानको समस्या झन् जटिल बन्दै गएको विज्ञरूले बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीले केही दिनमै माइतीघर डुबानको समस्या समाधान हुने भन्दै जमललगायतका उपत्यकामा अन्य डुबान हुने क्षेत्रको पनि अध्ययन गरी आवश्यक तयारी थाल्ने बताए ।

यसैबीच माइतीघरलगायत काठमाडौँ उपत्यकाको ढल निकास व्यवस्थापन सुधारका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयोजकत्वमा काठमाडौँ महानगरपालिका, सडक डिभिजन काठमाडौँ र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबीच समन्वय सुरु भएको छ ।

सरोकारवाला निकायले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना स्वीकृत गरी कार्यान्वयन प्रक्रिया अघि बढाएका छन् । तत्कालीन योजनाअन्तर्गत माइतीघरलगायत डुबान प्रभावित क्षेत्रमा ढल निकासमा भएका अवरोध, अतिक्रमण तथा अन्य समस्या पहिचान गरी प्रतिवेदन पेस भइसकेको छ ।

माइतीघरलगायतका क्षेत्रमा देखिएको डुबान समस्या र काठमाडौँ उपत्यकामा ढल निकाससम्बन्धी समस्या पहिचान गर्न गठित प्राविधिक समितिको प्रतिवेदनले माइतीघर चोक आसपासका क्षेत्रमा प्रत्येक वर्ष वर्षायाममा दोहोरिने डुबानको मुख्य कारण प्राकृतिक रूपमा पानी जम्ने क्षेत्रको विनाशलाई औँल्याएको छ । साथै अव्यवस्थित सहरीकरण, ढल प्रणालीको सीमित क्षमता र निकास व्यवस्थापनमा देखिएको कमजोरी रहेको प्राविधिक अध्ययनले देखाएको छ ।

प्रतिवेदनले दीर्घकालदेखि सहरी योजना विपरीत भएका निर्माण, प्राकृतिक जल बहावमा आएको अवरोध तथा निकास प्रणालीको कमजोर व्यवस्थापन रहेको निष्कर्ष निकालेको छ ।

प्राधिकरणका उपसचिव रामबहादुर केसीले पहिले वर्षाको पानी केही समय स्वाभाविक रूपमा जमेर बिस्तारै बग्ने भूभाग अहिले भवन, सडक, पार्किङ तथा अन्य भौतिक संरचनाले ढाकिँदा पानी सोस्ने क्षमता घटेको जानकारी दिए ।

पानी जम्न र बिस्तारै निकास हुनुपर्ने प्रणाली कमजोर बन्दा वर्षाको समयमा अत्यधिक पानी एकैचोटि ढल प्रणालीमा प्रवेश गर्ने अवस्था सिर्जना भएको प्रतिवेदनको निष्कर्ष छ ।