काठमाडौं । नेपाली किसानले उत्पादन गरेको मकैले उचित बजार र मूल्य पाउन नसकिरहेका बेला नेपालमा भने विदेशबाट ठूलो परिमाणमा ‘स्वीट कर्न फ्रोजन’ आयात भइरहेको छ। होटल तथा रेष्टुरेन्टमा लोकप्रिय बनेको स्वीट कर्न भारतलगायत मुलुकबाट आयात हुने गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।

होटल एसोसिएसन अफ नेपाल बागमतीका अध्यक्ष रामसुन्दर बक्रेका अनुसार नेपालका होटल तथा रेष्टुरेन्टमा स्वीट कर्न ग्राहकको रोजाइमा पर्दै आएको छ। नेपालमै पर्याप्त मकै उत्पादन भए पनि स्वीट कर्नका रूपमा प्रयोग गर्न विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको उनले बताए।

ADVERTISEMENT

उनका अनुसार स्वीट कर्नमा चिल्लो पदार्थ कम हुने भएकाले पनि उपभोक्ताको आकर्षण बढेको छ। स्थानीय उत्पादनलाई नै प्रशोधन गरी स्वीट कर्नका रूपमा प्रयोग गर्न सके किसान र स्वदेशी उद्योग दुवैलाई लाभ पुग्ने उनको भनाइ छ।

ADVERTISEMENT

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत तथा अन्य मुलुकबाट सात करोड ३९ लाख ९४ हजार रुपैयाँ बराबरको आठ लाख ९८ हजार १९८ किलोग्राम फ्रोजन स्वीट कर्न आयात गरेको छ। उक्त आयातबाट सरकारले एक करोड ४० लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा भारतबाट आठ करोड ६४ लाख दुई हजार रुपैयाँ बराबरको नौ लाख पाँच हजार ७०१ किलोग्राम स्वीट कर्न आयात भएको थियो। सो अवधिमा चीनबाट पनि फ्रोजन स्वीट कर्न आयात भएको तथ्याङ्क छ।

ADVERTISEMENT

नेपालमा स्वीट कर्न मात्र नभई खाद्यान्न मकैसमेत ठूलो परिमाणमा आयात हुँदै आएको छ। आर्थिक वर्ष २०८२/८३ मा विभिन्न मुलुकबाट १२ अर्ब ४१ करोड रुपैयाँ बराबरको मकै आयात भएको भन्सार विभागले जनाएको छ।