धनगढी। विभिन्न पाँच बुँदे माग राख्दै अनिश्चितकालीन सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले धर्मशाला खाली गर्न आग्रह गरेको छ।
धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा. केसीलाई पत्र बुझाउँदै धर्मशाला छाड्न अनुरोध गरिएको पुष्टि गरेका छन्।
अध्यक्ष पन्तका अनुसार डा. केसी बस्नका लागि अनुमति लिएर धर्मशालामा आए पनि पूर्वजानकारीबिनै सत्याग्रह सुरु गरेपछि विभिन्न पक्षबाट दबाब आउन थालेको थियो।
‘उहाँ बास बस्न आउनुभएको थियो, तर कुनै जानकारीबिनै अनसन सुरु गर्नुभयो। धार्मिक संस्थामा अनसन बस्न किन अनुमति दिइयो भन्ने दबाब आएपछि धर्मशाला छाड्न अनुरोध गरेका हौं,’ पन्तले बताए। यद्यपि, दबाब कसबाट आएको हो भन्नेबारे उनले खुलाएनन्।
यसअघि बिहीबार अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काले पनि डा. केसीलाई धर्मशालामा अनसन बस्न नदिन व्यवस्थापन समितिलाई अनुरोध गरेका थिए।
धर्मशाला छाड्न पत्र प्राप्त भएपछि डा. केसीको टोली वैकल्पिक स्थानबारे छलफलमा जुटेको उनका सहयोगी डा. अमृत जैसीले बताए।
उनका अनुसार डा. केसीले पूर्वजानकारी दिएरै धर्मशालामा सत्याग्रह सुरु गरेका थिए। तर अहिले व्यवस्थापन समितिले कुन कारणले स्थान खाली गर्न भनेको हो भन्नेबारे आफूहरूलाई स्पष्ट जानकारी नभएको उनले बताए।
डा. केसी विभिन्न पाँच बुँदे मागसहित बिहीबारदेखि अनिश्चितकालीन सत्याग्रहमा छन्।





