काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले अनसन तोडेका छन् । कैलालीको गेटा मेडिकल कलेजमा उपचाररत पृतम चौधरीको हातबाट जुस पिएर केसीले मंगलबार अनसन तोडेका हुन् ।

आइतबारदेखि सत्याग्रहमा बसेका केसीको स्वास्थ्य बिग्रँदै गएको थियो । उनका सहयोगी डा.अमृत जैसीका अनुसार मंगलबार बिहान मुटुको चालमा समस्या देखिएको थियो ।

केसीले निजी मेडिकल कलेजमा एमबीबीएस सिट वृद्धिको विरोधमा तीन दिने सत्याग्रह सुरु गरेका थिए । उनले कसैसँग सहमति नगरी सत्याग्रह तोडेका हुन् ।

चिकित्सा शिक्षा आयोगले साउन ३० मा मापदण्डविपरीत सिट वृद्धिको निर्णय गरेको उनको आरोप छ । उनले यो निर्णयले शिक्षाको गुणस्तर र स्वास्थ्य सेवामा ह्रास आउने बताए ।

केसीका मागमा सिट वृद्धि फिर्ता, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना, गेटामा तत्काल शैक्षिक कार्यक्रम सञ्चालन र विगतका सम्झौता कार्यान्वयन छन् ।

चिकित्सा शिक्षा आयोगले सरकारी मेडिकल कलेजलाई एउटा पनि सिट निर्धारण नगरी निजी मेडिकल कलेजका लागि १३ सयभन्दा बढी सिट बाँडेको थियो । जसको अहिले चौतर्फी आलोचना भइरहेको छ ।