काठमाडौं । सुनसरीका विभिन्न स्थानमा तेस्रो दिन बुधबार पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी रहँदा जनजीवन प्रभावित भएको छ। बिहानैदेखि बजार, कलकारखाना तथा सार्वजनिक सवारीसाधन बन्द हुँदा दैनिक गतिविधि ठप्पजस्तै बनेका छन्।

जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रभावित क्षेत्रसहित जिल्लाका १० स्थानीय तहमा कर्फ्यु तथा निषेधाज्ञालाई निरन्तरता दिएको छ। प्रशासनका अनुसार धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाबाहेक दक्षिणी १० स्थानीय तहमा अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा लागू रहनेछ।

ADVERTISEMENT

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम तोकिएका क्षेत्रमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस निकाल्न, प्रदर्शन, सभा, बैठक तथा धर्नाजस्ता गतिविधि गर्न रोक लगाइएको जानकारी दिएका छन्।

ADVERTISEMENT

प्रशासनका अनुसार इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्ग आसपासका क्षेत्र, साथै इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगन्ज, हरिनगर र बर्जु गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।

प्रशासनले कर्फ्यु वा निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ। आदेशविपरीत गतिविधि गर्नेहरूमाथि कडा कानुनी कारबाही गरिने पनि प्रशासनले जनाएको छ।

लगातार तीन दिनदेखि जारी बन्द र सुरक्षा सतर्कताका कारण स्थानीयवासीको दैनिक जीवन, व्यापार–व्यवसाय, यातायात तथा सेवा प्रवाहमा उल्लेखनीय असर परेको छ।