काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारलाई थप प्रभावकारी बनाउन सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ।

आयोगले महिलाको सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य तथा लैङ्गिक समानताको अधिकारलाई अझ सुदृढ बनाउन ऐनमा आवश्यक संशोधन गर्नुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई औपचारिक रूपमा पत्राचार गरेको हो। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार आयोगको बैठकबाट भएको निर्णयअनुसार संशोधनका लागि सरकारलाई सिफारिस पठाइएको छ। उक्त सिफारिस प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समिति, कानुन, न्याय तथा मानव अधिकार समिति तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा समेत पठाइएको छ।

ADVERTISEMENT

आयोगले ऐनमा भएका व्यवस्थालाई थप प्रभावकारी कार्यान्वयन गर्न विशेष प्रबन्ध आवश्यक रहेको जनाएको छ। हालको ऐनमा कारागार वा हिरासतमा रहेका महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न सरकारले विशेष व्यवस्था गर्न सक्ने प्रावधान रहेको छ।

ADVERTISEMENT

यस्तै, सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत पुरुष कर्मचारीलाई पत्नी सुत्केरी हुँदा प्रसूति स्याहारका लागि पारिश्रमिकसहित ४५ दिन बिदा दिने व्यवस्था पनि ऐनमा समावेश छ। आयोगले गर्भवती महिलालाई स्वास्थ्यका दृष्टिले हानिकारक कामबाट जोगाउन कार्यस्थलमै प्रजनन स्वास्थ्य संरक्षणसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा लागू गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

आयोगले कसुरबाट पीडित हुने व्यक्तिको उपचार तथा जीवनयापन खर्च कसुरदारबाट भराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिएको छ। साथै, ग्रामीण तथा दुर्गम क्षेत्रका महिलाको प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्ने, प्राकृतिक विपद्, महामारी तथा अन्य जटिल परिस्थितिमा गर्भवती र सुत्केरी महिलालाई विशेष संरक्षण प्रदान गर्ने व्यवस्था ऐनमा थप गर्नुपर्ने सिफारिस गरेको छ।

आयोगले यी संशोधनले मातृ स्वास्थ्य सेवा थप पहुँचयोग्य, सुरक्षित र अधिकारमुखी बन्ने विश्वास व्यक्त गरेको छ।