काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एटीएमबाट १०० रुपैयाँ पनि निकाल्न मिल्ने व्यवस्था गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक पत्रमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्न अनुरोध गरेको हो।
यो सँगै अब बैंकको एटीएमबाट १ हजार र ५०० सँगै १०० रुपैयाँ पनि निकाल्न मिल्ने भएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै हाल एटीएमबाट १ हजार र ५०० रुपैयाँ दरका नोट मात्रै वितरण भइरहेकोमा १०० रुपैयाँ दरका नोटसमेत उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
ग्राहकहरूबाट समय–समयमा एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत उपलब्ध गराउन माग हुँदै आएको र नजिकिँदै गरेको बडादशैंलाई ध्यानमा राखेर यस्तो व्यवस्था गर्न आग्रह गरिएको राष्ट्र बैंकले जनाएको छ। चाडपर्वको समयमा बैंक तथा वित्तीय संस्थामा साना दरका नोट साट्ने ग्राहकको भीड बढ्ने भएकाले एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्न सकेमा बैंकमा हुने भीड उल्लेख्य रूपमा कम हुने राष्ट्र बैंकको अपेक्षा छ। राष्ट्र बैंकले केही बैंकसँग मौखिक जानकारी लिँदा प्राविधिक रूपमा एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्ने व्यवस्था गर्न सकिने जानकारी प्राप्त भएकोसमेत पत्रमा उल्लेख गरेको छ ।





