काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र हुने आलोचना र मतभेदलाई स्वाभाविक रूपमा लिन आग्रह गर्दै त्यसको प्रतिवाद गालीगलौज वा आक्रोशबाट गर्न नहुने बताएका छन्।

बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा शर्माले राजनीतिक यात्रामा संयमता, धैर्यता र लक्ष्यप्रतिको प्रतिबद्धता आवश्यक रहेको बताए।

ADVERTISEMENT

पार्टीको संस्थापन इतर समूहले अघिल्लो दिन आयोजना गरेको भेलापछि आएका टिप्पणी र प्रतिक्रियालाई संकेत गर्दै उनले आलोचनालाई सुधारको अवसरका रूपमा लिनुपर्ने धारणा राखे।

ADVERTISEMENT

‘कसैले कतै भेला भएर एकदमै आलोचना गर्नुभयो भन्दैमा त्यसकै पछि लागेर वा त्यसैको बदलामा ढुंगा हानेर हामी आफ्नो गन्तव्यमा पुग्न सक्दैनौँ,’ उनले भने।

शर्माले हरेक आलोचनाको प्रतिवादमा अल्झिँदा मूल उद्देश्य ओझेलमा पर्न सक्ने उल्लेख गर्दै पार्टीभित्र विचारको मन्थनलाई सकारात्मक रूपमा लिन आग्रह गरे।

ADVERTISEMENT

बीपी कोइरालाको मेलमिलाप र सहिष्णुताको राजनीतिको स्मरण गर्दै शर्माले वर्तमान परिस्थितिमा नेपाली कांग्रेसले आन्तरिक विवादभन्दा नीति, विचार र संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताए।