काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक सांसदको नाम टुंगो लगाउन नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दैछ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलोपटक कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने बैठकले निर्णय गर्ने छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि कांग्रेस केन्द्रीय कार्यालयले निर्देशानुसार अनुरोध गरेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकमा २० सिट सो पार्टीले जितेको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले आज समानुपातिकको नाम टुंगो लगाइने बताए । उनले आजको बैठकमा अन्य विषयमा सामान्य छलफल हुनसक्ने भए पनि मुख्य विषय भने निर्वाचन आयोगलाई सिफारिस गर्ने समानुपातिक सदस्यको नाम टुंगो लगाइने रहेको बताए ।