काठमाडौं । नेपाली कांग्रेसले बिहीबार जरा अभियान समापनसँगै नवीन कार्यक्रम घोषणा गर्दैछ । कांग्रेसले राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गरेर नयाँ अभियानको सुरुवात गर्न लागेको हो ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ४४औँ विपी स्मृति दिवसको अवसरमा आज दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा ‘नवीन परिस्थिति, नवीन संकल्प नवीन अभियान’ को घोषणा गर्दै छ ।
कांग्रेसले पार्टीको १५औँ महाधिवेशन अघि विशेष अभियान चलाउन लागेको बताएको छ । बुधबार बिपी स्मृति दिवसको कार्यक्रम मनाउने क्रममा इतर समूहले लगाएका गम्भीर आरोप र लाञ्छनाको आज सभापति गगन थापाले जवाफ फर्काउने भएका छन् ।
प्रज्ञा भवन कमलादीमा आयोजित बिपी स्मृति दिवस कार्यक्रममा बोल्ने अधिकांश नेताले सभापति थापाको चर्को आलोचना गर्दै संगीन आरोपसमेत लगाएका थिए । उनीहरूले अब आफूहरू धेरै नसहने भन्दै साउन २९ मा राष्ट्रिय भेला बोलाएको छ । सो भेलामार्फत नयाँ पार्टी गठन गर्ने इतर समूहको तयारी छ ।





