काठमाडौं — बुद्ध एयरले आफ्नो सेवा विस्तार तथा उडान व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ७२ सिट क्षमताका दुईवटा नयाँ एटीआर ७२–६०० विमान भित्र्याउने भएको छ।
कम्पनीका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार पहिलो विमान फ्रान्सबाट शनिबार काठमाडौं आइपुग्नेछ भने दोस्रो विमान करिब तीन सातापछि नेपाल ल्याइनेछ।
हाल बुद्ध एयरले एटीआर ७२–५०० मोडलका विमान सञ्चालन गरिरहेको छ। नयाँ एटीआर ७२–६०० थपिएपछि उडान तालिका र मर्मत व्यवस्थापन सहज हुने कम्पनीको विश्वास छ।
यसअघि कम्पनीका दुई विमानले आफ्नो उडान चक्र पूरा गरेपछि सेवा निवृत्त भएका थिए, जसका कारण उडान तालिका व्यवस्थापनमा चुनौती उत्पन्न भएको थियो।
नयाँ विमान नेपाली पाइलट तालिममा रहेकाले प्रारम्भिक चरणमा विदेशी पाइलटले काठमाडौंसम्म ल्याउनेछन्। एटीआर ७२–६०० विमान आधुनिक प्रविधियुक्त मानिन्छ।
यसको ककपिट पूर्ण रूपमा डिजिटाइज्ड छ, इन्टेरियर फराकिलो र आकर्षक छ तथा ओभरहेड बिनको क्षमता पनि बढी रहेको छ। कम्पनीका अनुसार यो ‘ग्रीन एयरक्राफ्ट’ भएकाले तुलनात्मक रूपमा कम इन्धन खपत गर्ने र कार्बन उत्सर्जन घटाउन सहयोग गर्ने विशेषता राख्छ।






