काठमाडौं। बुद्ध एयरले कलसाइन ९ एन-एजेओ रहेको एटीआर–७२ जहाजलाई औपचारिक रूपमा बिदाइ गरेको छ। २ जुलाई २०१० देखि व्यवसायिक उडानमा संलग्न यो जहाजले १६ वर्षको अवधिमा २४ लाख ८२ हजार ७७२ यात्रुलाई सुरक्षित यात्रा गराएको थियो।
एटीआर–७२ जहाजको अधिकतम उडान क्षमता ७२ हजार ‘साइकल’ रहेको छ, जसमा एक ‘साइकल’ले जहाजको एक उडान र एक अवतरण जनाउँछ। अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट काठमाडौंसम्म गरिएको थियो।
बिदाइ समारोहमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले जहाजले नेपालको हवाई यात्रालाई सुगम, कम खर्चिलो र वातावरणमैत्री बनाउनेमा ठूलो योगदान दिएको बताए। उनले यस जहाजले बजार विस्तार र शाख वृद्धि दुवैमा महत्त्वपूर्ण भूमिका खेलेको पनि उल्लेख गरे।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक टेकनाथ सिटौलाले बुद्ध एयरको उत्कृष्ट मर्मत–सम्भार र व्यवस्थापनका कारण जहाजलाई सफलतापूर्वक बिदाइ गर्न सम्भव भएको बताए। एटीआर कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट स्टेफानो माराज्जनीले बुद्ध एयरसँगको साझेदारीप्रति खुशी व्यक्त गर्दै जहाजलाई अन्तिम उडानसम्म सुरक्षित रूपमा सेवा दिने वातावरण उपलब्ध गराएको बताए।
यसअघि बुद्ध एयरले एटीआर–४२ जहाजलाई पनि १० सेप्टेम्बर २०२४ मा बिदाइ गरेको थियो। बुद्ध एयर आन्तरिक उडानसँगै भारतको वाराणसी र कोलकाताका लागि पनि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएको छ।





