काठमाडौं। नेपालकै ठूलो निजी हवाई सेवा प्रदायक बुद्ध एयर प्रालि कम्पनी विभाजन (स्प्लिट) प्रक्रियातर्फ उन्मुख भएको छ। उच्च अदालत पाटनको वाणिज्य इजलासले अल्पमत सेयरधनीले दायर गरेको कम्पनी स्प्लिटसम्बन्धी निवेदन सदर गरेपछि कम्पनी विभाजनको प्रक्रिया अघि बढ्ने अवस्था बनेको हो।
कम्पनी सञ्चालन, साधारणसभा, निर्णय प्रक्रिया तथा आयस्रोतसम्बन्धी जानकारी नदिएको आरोप लगाउँदै ४० प्रतिशत सेयरधनीको तर्फबाट अर्चना बस्नेत ले करिब एक वर्षअघि कम्पनी विभाजन (स्प्लिट) को माग गर्दै रिट दायर गरेकी थिइन्। अदालतले उक्त मागलाई सदर गरेपछि बुद्ध एयर विभाजनको दिशामा अघि बढेको छ।
बुद्ध एयरमा अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत पक्षसँग ६० प्रतिशत ‘क’ वर्गको सेयर स्वामित्व रहेको छ। त्यस्तै, उनका भाइ शिवेन्द्रबहादुर बस्नेत का परिवार—श्रीमती, दुई छोरी र एक छोराको नाममा ४० प्रतिशत ‘ख’ वर्गको सेयर रहेको छ।
कम्पनीको व्यवस्था अनुसार ‘ख’ वर्गका सेयरधनीले सञ्चालक समितिमा एक जना मात्र प्रतिनिधि पठाउन पाउने व्यवस्था छ। तर ‘क’ वर्गबाट भने वीरेन्द्रबहादुर बस्नेत र उनकी श्रीमती सुनिता बस्नेत सञ्चालक सदस्य छन्। अल्पमत सेयरधनीको आरोप अनुसार बहुमत सेयरको आधारमा कम्पनीका निर्णय एकपक्षीय रूपमा हुँदै आएका कारण अन्ततः कम्पनी विभाजनको माग अदालतसम्म पुगेको हो।
अदालतको आदेशसँगै अब कम्पनी विभाजनको कानुनी प्रक्रिया अघि बढ्नेछ। यदि विभाजन नगर्ने विकल्प रोजिएमा बहुमत पक्षले अल्पमत पक्षको सेयर खरिद गर्नुपर्ने वा दुवै पक्षको सहमतिमा कम्पनी बिक्री गर्ने विकल्पसमेत अघि आउन सक्ने देखिएको छ।





