काठमाडौं । बैंक तथा वित्त कम्पनीहरूको सबैभन्दा बढी निष्क्रिय (खराब) कर्जा माछापालन क्षेत्रमा देखिएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वित्तीय स्थायित्व सम्बन्धी प्रतिवेदन २०२४/२५ अनुसार क्षेत्रगत रूपमा हेर्दा माछापालन क्षेत्रमा सबैभन्दा बढी कर्जा निष्क्रिय भएको हो। तथ्यांकअनुसार माछापालन क्षेत्रमा खराब कर्जा ९ दशमलव ९७ प्रतिशत पुगेको छ, जुन सबै क्षेत्रमध्ये उच्च हो।

ADVERTISEMENT

प्रतिवेदनअनुसार त्यसपछि थोक तथा खुद्रा व्यापार क्षेत्रमा ८ दशमलव ५१ प्रतिशत, निर्माण क्षेत्रमा ८ दशमलव ४० प्रतिशत र कृषि क्षेत्रमा ७ दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ। यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ६ दशमलव ६९ प्रतिशत, धातु उत्पादन, मेसिनरी तथा विद्युतीय उपकरण क्षेत्रमा ५ दशमलव ७० प्रतिशत र होटल तथा रेस्टुरेन्ट क्षेत्रमा ५ दशमलव २९ प्रतिशत कर्जा निष्क्रिय रहेको प्रतिवेदनमा उल्लेख छ।

ADVERTISEMENT

त्यसैगरी कृषि, वन तथा पेय पदार्थ सम्बन्धी क्षेत्रमा ५ दशमलव १९ प्रतिशत, गैर–खाद्य उत्पादन क्षेत्रमा ४ दशमलव ३४ प्रतिशत, अन्य क्षेत्रमा ३ दशमलव ४२ प्रतिशत, अन्य सेवा उद्योगमा ३ दशमलव ३० प्रतिशत, वित्त, बीमा तथा स्थिर सम्पत्ति क्षेत्रमा २ दशमलव ७१ प्रतिशत, खानी क्षेत्रमा २ दशमलव ५३ प्रतिशत तथा उपभोग कर्जामा १ दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ।

प्रतिवेदनअनुसार सबैभन्दा कम निष्क्रिय कर्जा विद्युत्, ग्यास तथा पानी क्षेत्रमा देखिएको छ। यस क्षेत्रमा कुल ० दशमलव ४५ प्रतिशत मात्र कर्जा निष्क्रिय रहेको छ। स्थानीय सरकार सम्बन्धी कर्जामा ० दशमलव ०४ प्रतिशत मात्र कर्जा निष्क्रिय रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२४ मा कुल निष्क्रिय कर्जामध्ये ‘लस’ अर्थात् असुल हुने सम्भावना अत्यन्त न्यून रहेको कर्जाको हिस्सा ५६ दशमलव ६६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०२५ मा बढेर ६२ दशमलव ३० प्रतिशत पुगेको छ। त्यसैगरी ‘डाउटफुल’ अर्थात् शंकास्पद कर्जाको हिस्सा १६ दशमलव ९५ प्रतिशतबाट बढेर २१ दशमलव ०६ प्रतिशत पुगेको छ भने ‘सब–स्ट्यान्डर्ड’ कर्जाको हिस्सा २४ दशमलव ९२ प्रतिशतबाट घटेर १४ दशमलव ७५ प्रतिशत मा झरेको छ।

आर्थिक गतिविधिमा आएको सुस्तता, निर्माण तथा व्यापार क्षेत्रमा देखिएको मन्दी, कर्जा असुलीमा आएको चुनौती तथा व्यवसायीहरूको नगद प्रवाह कमजोर बन्दै जाँदा निष्क्रिय कर्जामा दबाब बढेको प्रतिवेदनमा उल्लेख छ। विशेषगरी उत्पादन र सेवा क्षेत्रसँग प्रत्यक्ष जोडिएका व्यवसायमा वित्तीय जोखिम बढ्दै गएको तथ्यांकले देखाएको छ।