काठमाडौं। पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न सकेको छैन। कर्जा प्रवाहमा सुस्तता देखिए पनि खराब कर्जा (एनपीएल) भने निरन्तर बढ्दै गएको तथ्याङ्कले देखाएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले कुल ७७ खर्ब ८० अर्ब १५ करोडभन्दा बढी निक्षेप संकलन गरेका छन्। सोही अवधिमा ५८ खर्ब ४ अर्ब ४० करोडभन्दा बढी कर्जा प्रवाह गरिएको छ। उक्त कर्जामध्ये ५.४२ प्रतिशत अर्थात् करिब ३ खर्ब १४ अर्ब ५९ करोड रकम खराब कर्जाको रूपमा रहेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा भने कुल निक्षेप ६७ खर्ब ६९ अर्ब २७ करोड रहेको थियो भने कर्जा प्रवाह ५४ खर्ब ५५ अर्ब ९७ करोड पुगेको थियो। त्यसबेला खराब कर्जा ४.९२ प्रतिशत मात्रै रहेको थियो, जसले चालू वर्षमा जोखिम बढेको स्पष्ट देखाउँछ।

वाणिज्य बैंकहरूको अवस्था पनि समान रूपमा चिन्ताजनक देखिएको छ। चालू आवको फागुनसम्म वाणिज्य बैंकहरूले ७० खर्ब १६ अर्ब २३ करोड निक्षेप संकलन गरी ५१ खर्ब ६१ अर्ब ४३ करोड कर्जा प्रवाह गरेका छन्। ती कर्जामध्ये ५.२६ प्रतिशत अर्थात् २ खर्ब ७१ अर्ब ४९ करोड खराब कर्जा रहेको छ। अघिल्लो वर्ष यही अवधिमा खराब कर्जा ४.७३ प्रतिशत मात्र थियो।
विकास बैंकहरूको हकमा पनि खराब कर्जा बढ्दो क्रममा छ। चालू आवमा ६ खर्ब २९ अर्ब ७३ करोड निक्षेप संकलन गरी ५ खर्ब ३८ अर्ब ६७ करोड कर्जा प्रवाह गरिएको छ। तीमध्ये ५.७५ प्रतिशत अर्थात् ३२ अर्ब ६९ करोड खराब कर्जा रहेको छ, जुन गत वर्षको ५.११ प्रतिशतभन्दा बढी हो।
फाइनान्स कम्पनीहरूमा भने समस्या अझ गम्भीर देखिएको छ। चालू आवको फागुनसम्म १ खर्ब ३७ अर्ब १५ करोड निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब ३० करोड कर्जा प्रवाह भएकोमा ११.८६ प्रतिशत अर्थात् १२ अर्ब ३७ करोड खराब कर्जा रहेको छ। यद्यपि अघिल्लो वर्षको १२.८५ प्रतिशतको तुलनामा केही सुधार भए पनि यो दर अझै उच्च मानिन्छ।
विज्ञहरूका अनुसार कर्जा उत्पादनशील क्षेत्रमा जान नसक्नु नै खराब कर्जा बढ्नुको प्रमुख कारण हो। धेरै कर्जा शेयर बजार, घरजग्गा र सवारी साधनजस्ता अनुत्पादक क्षेत्रमा लगानी हुँदा प्रतिफल नआउँदा ऋण असुलीमा समस्या देखिएको बताइन्छ।
कृषि, उद्योग र उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्नेमा बैंक तथा वित्तीय संस्था अन्य क्षेत्रमा केन्द्रित हुँदा दीर्घकालीन जोखिम बढेको विश्लेषण गरिएको छ। सरकारले लगानीलाई सही क्षेत्रमा निर्देशित गर्न नसक्दा बैंकिङ प्रणालीमा दबाब बढ्दै गएको जानकारहरूको भनाइ छ।
अर्थतन्त्रमा तरलता बढ्दो अवस्थामा रहे पनि त्यसको प्रभावकारी परिचालन हुन नसक्दा बैंकिङ क्षेत्रमा चुनौती थपिएको छ। विज्ञहरूले आगामी दिनमा कर्जा व्यवस्थापन, लगानीको दिशा र नियामकीय निगरानी कडा पार्न आवश्यक रहेको सुझाव दिएका छन्।







