काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा विश्वस्तरीय औषधि उद्योग स्थापना गर्न स्विट्जरल्याण्डसँग सहकार्यको प्रस्ताव गरेका छन्।
सोमबार स्विट्जरल्याण्डको नेशनल काउन्सिलका अध्यक्ष पिएरे आन्द्रे पाजसँग भएको शिष्टाचार भेटमा दाहालले सरकारी तहबाटै पहल गरी नेपालमा औषधि उद्योग स्थापना गर्न आग्रह गरेका हुन्।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले स्विट्जरल्याण्डमा विश्वस्तरीय औषधि उद्योग तथा कम्पनी रहेकाले नेपालमा पनि त्यस्ता उद्योग स्थापना गर्न सहयोगको प्रस्ताव राखेको बताए। नेपालमै औषधि उत्पादन गर्न सके नेपाली नागरिकले सहुलियतमा औषधि पाउने उनको भनाइ थियो।
दाहालका अनुसार स्विट्जरल्याण्डका नेशनल काउन्सिल अध्यक्ष पाजले नेपाललाई आवश्यक पर्ने औषधि तथा अन्य सहयोगका विषयमा जानकारी गराउन आग्रह गर्दै त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
दाहालले हालै भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि स्विट्जरल्याण्डले दुई मिलियन अमेरिकी डलर सहयोग गरेकोमा धन्यवादसमेत व्यक्त गरे। नेपाललाई विकास साझेदारका रूपमा स्विट्जरल्याण्डले गर्दै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने अपेक्षा राखेको उनले बताए।
भेटमा नेपाल र स्विट्जरल्याण्डबीच संसदीय सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको छ। दुवै देशका संसद्बीच संसदीय मैत्री समूह गठन गरी संसदीय अभ्यास र अनुभव आदानप्रदान गर्ने सहमति भएको दाहालले जानकारी दिए।
नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा दुवै पक्षले शुभकामना आदानप्रदानसमेत गरेका थिए।









