सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका १० स्थानीय तहमा लागू निषेधाज्ञाको अवधि भोलि बिहान ९ बजेसम्म थप गरेको छ।

प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार साउन १६ गते अपराह्न ५ बजेदेखि साउन १७ गते बिहान ९ बजेसम्म निषेधाज्ञा कायम रहनेछ।

ADVERTISEMENT

यसअघि प्रशासनले साउन १२ गते राति ९ बजेदेखि लागू गरेको कर्फ्यु हटाउँदै शनिबार बिहान ८ः३० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो। पछिल्लो निर्णयसँगै निषेधाज्ञाको अवधि दोस्रो पटक थपिएको हो।

प्रमुख जिल्ला अधिकारी अर्यालले भोलि बिहानसम्मको सुरक्षा अवस्थाको समीक्षा गरेर निषेधाज्ञा हटाउने वा थप गर्ने विषयमा निर्णय गरिने बताए।

ADVERTISEMENT

हाल निषेधाज्ञा इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र तथा इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जुका सम्पूर्ण क्षेत्रमा लागू रहेको प्रशासनले जनाएको छ।