काठमाडौं– करार कर्मचारी हटाएर आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीले मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वारमा धर्ना दिएका छन्।
सरकारको उक्त योजनाले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।
आन्दोलनरत कर्मचारीहरूले आफ्नो सेवाको सुनिश्चितता गर्न, करार कर्मचारीलाई विस्थापित गर्ने नीति रोक्न तथा आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन्।
धर्नामा सहभागी कर्मचारीहरूले रोजगारीको सुरक्षा सुनिश्चित नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनीसमेत दिएका छन्।





