काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पूँजी बजार सुधार र विकासलाई केन्द्रमा राख्दै ९ बुँदे प्राथमिकता सार्वजनिक गरेको छ।
बोर्डले पूँजी बजारको संस्थागत विकास, डिजिटल प्रविधिको विस्तार, लगानीकर्ताको पहुँच वृद्धि तथा नियामकीय संरचना सुदृढीकरणलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम समयबद्ध रूपमा कार्यान्वयन गर्ने जनाएको छ।
प्राथमिकताअन्तर्गत धितोपत्रसम्बन्धी कसुरको प्रारम्भिक अनुसन्धानमा अन्तरनिकाय समन्वय प्रभावकारी बनाइनेछ। साथै, सामाजिक सञ्जालमार्फत बजार प्रभावित पार्ने ‘फिनफ्ल्युन्सर’, अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार तथा वित्तीय ठगीविरुद्ध कडा निगरानी गरिने बोर्डले जनाएको छ।
सार्वजनिक निष्कासन (आईपीओ) प्रणालीलाई थप व्यवस्थित बनाउन कम्पनीको वित्तीय तथा व्यवस्थापकीय अवस्थाको वस्तुगत मूल्याङ्कनपछि मात्र अनुमति दिने व्यवस्था गरिने उल्लेख गरिएको छ।
बोर्डले मार्जिन कारोबारलाई थप प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंक, नेप्से, सीडीएससी र ब्रोकरबीच समन्वय बढाउने, सामूहिक लगानी कोषको लक–इन अवधि तथा धितोपत्र बाँडफाँट व्यवस्था पुनरावलोकन गर्ने योजना पनि अघि सारेको छ।
यस्तै, प्राथमिक र दोस्रो बजारको कारोबार शुल्क पुनरावलोकन गरी लागत घटाइने, कारोबारयोग्य सेयरका आधारमा नयाँ सूचकांक विकास गरिने तथा हालको नेप्से सूचकांकलाई ‘अल इक्विटी इन्डेक्स’का रूपमा कायम राखिने बोर्डले जनाएको छ।
यसका साथै आईपीओअघि संगठित संस्थाबाट हुने पूँजी संकलनको नियमन, पूँजी बजार विकास मार्गचित्र तथा आगामी आवको पूँजी बजार नीति सार्वजनिक गर्ने कार्यक्रम पनि बोर्डको प्राथमिकतामा परेको छ।





