काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजी बजारको विकास तथा लगानीकर्ताको हित संरक्षणका लागि आगामी साताभित्र समयबद्ध कार्ययोजना सार्वजनिक गर्ने भएको छ।
बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै पूँजी बजारमा देखिएका समस्या समाधान र बजारको दिगो विकासका लागि आवश्यक गृहकार्य सम्पन्न भएको जनाएको छ। विज्ञप्तिअनुसार पूँजी बजार विकास मार्गचित्र सार्वजनिक गरी तत्काल कार्यान्वयनमा लैजाने तयारी गरिएको छ।
धितोपत्र व्यवसायी तथा सम्बन्धित संस्थामार्फत मार्जिन कारोबारलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बोर्डले जनाएको छ। साथै सार्वजनिक निष्कासन प्रक्रिया र नियामकीय व्यवस्थालाई थप व्यवस्थित बनाउन धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली, सूचीकृत संगठित संस्थाको संस्थागत सुशासनसम्बन्धी निर्देशिका लगायतका कानुनी व्यवस्थाको समयानुकूल पुनरावलोकन गर्ने काम सम्पन्न भएको पनि बोर्डले उल्लेख गरेको छ।
बोर्डले लगानीकर्तालाई हल्ला, बहकाउ वा अफवाहको पछि नलागी आफ्नो अध्ययन, विश्लेषण र जोखिम बहन क्षमताका आधारमा मात्र लगानी निर्णय लिन आग्रह गरेको छ।
पछिल्लो समय सेयर बजार लगातार ओरालो लागेपछि बोर्डले यस्तो प्रतिबद्धता सार्वजनिक गरेको हो। पछिल्ला तीन महिनामा नेप्से परिसूचक करिब २५० अंकले घटेको छ। चैत २६ गते २,८५१ अंकमा रहेको नेप्से हाल २,६०१ अंकमा झरेको छ।







