काठमाडौं । पुँजी बजारमा लगातार ठूलो गिरावट आएपछि लगानीकर्ताहरू आन्दोलित बनेका छन् । उनीहरूले मंगलबारदेखि थप दबाबमूलक कार्यक्रमहरू सुरु गरेका छन्।

नयाँ सरकार बनेयता सेयर बजार चार सयभन्दा बढी अंकले घटेर सर्वसाधारण लगानीकर्ताको अर्बौँ रुपैयाँ डुब्न लागेको भन्दै उनीहरूले नियामक निकाय र सरोकारवाला संस्थाहरूमा तालाबन्दी गर्ने प्रयास गरेका हुन्।

ADVERTISEMENT

लगानीकर्ताहरू मंगलबार बिहानै खुमलटारस्थित नेपाल धितोपत्र बोर्ड (सेबोन) को कार्यालय र नेपाल स्टक ब्रोकर एसोसिएसनको कार्यालय पुगेर नाराबाजी गरेका थिए । लगानीकर्ताहरू पुग्नुअगावै ठूलो संख्यामा तैनाथ गरिएका सुरक्षाकर्मीका कारण तालाबन्दी गर्ने प्रयास असफल भएको छ।

लगानीकर्ताका नेता तिलक कोइरालाको नेतृत्वमा जम्मा भएका ६०/७० जनाको समूहले धितोपत्र बोर्डको गेटमा धर्ना दिइरहेको छ। प्रहरीले गेटमा सुरक्षा घेरा हालेर लगानीकर्तालाई भित्र छिर्न नदिएपछि केही बेर तनावपूर्ण स्थिति सिर्जना भएको थियो।

ADVERTISEMENT

लगानीकर्ताहरूले पूँजी बजारलाई बचाउ, तत्काल रेस्क्यु प्लान लागू गर र नियामक निकाय मूकदर्शक बन्न पाउँदैन जस्ता नारा लगाएका थिए। आन्दोलनका नेतृत्वकर्ता कोइरालाका अनुसार यो केवल सामान्य विरोध प्रदर्शन मात्र नभई बजार बचाउन चालिएको बाध्यकारी कदम हो।

पछिल्लो समय सेयर बजारको परिसूचकमा आएको निरन्तरको गिरावटले लगानीकर्ताको मनोबल निकै खस्किएको छ। मौद्रिक नीति र नियामक निकायका कतिपय नीतिगत व्यवस्थाका कारण बजार ओरालो लागेको लगानीकर्ताहरूको बुझाइ छ। उनीहरूले तत्काल नीतिगत सुधार नगरे र बजारलाई थप घट्नबाट नरोके आन्दोलनलाई देशव्यापी बनाउने चेतावनीसमेत दिएका छन्।

लगानीकर्ताको तनावपूर्ण प्रदर्शनपछि नियामक निकाय  वार्ताका लागि तयार भएको छ।  धितोपत्र बोर्डका अध्यक्ष गोपालप्रसाद भट्टले आन्दोलनरत लगानीकर्ताहरूलाई वार्ताका लागि आफ्ना पाँचजना प्रतिनिधि पठाउन आग्रह गरेपछि अहिले धितोपत्र बोर्ड परिसरको वातावरण केही शान्त बनेको छ।