काठमाडौं । धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरसम्बन्धी अनुसन्धानका लागि भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले धितोपत्र बजारमा संलग्न विभिन्न ५६ जना उच्चपदस्थ व्यक्तिहरूको सेयर रोक्का राख्न नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको छ।

सीआईबीले २०८३ जेठ ११ गते पठाएको पत्रमा सम्बन्धित व्यक्तिहरूको सेयर रोक्का राख्नुका साथै उनीहरूको विस्तृत लगानी विवरण उपलब्ध गराउनसमेत आग्रह गरिएको छ।

ADVERTISEMENT

अनुसन्धान दायरामा रहेको मुद्दा नेपाल धितोपत्र बोर्डकै जाहेरीमा आधारित रहेको र सो मुद्दामा नेपाल सरकार वादी तथा दीपक भट्टसहितका व्यक्तिहरू प्रतिवादी रहेको बताइएको छ। सोही प्रकरणको अनुसन्धानलाई अघि बढाउने क्रममा सीआईबीले सेयर बजारमा संलग्न विभिन्न व्यक्तिहरूको सम्पत्ति विवरण र लगानी संरचना अध्ययन गर्न थालेको हो।

सीआईबीको पत्रअनुसार बीमा तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कम्पनीहरूमा उच्चपदस्थ व्यक्तिहरूको लगानीसमेत अनुसन्धानको घेरामा परेको छ। सूचीमा हिमालयन रिइन्स्योरेन्स, माइक्रो इन्स्योरेन्स कम्पनीहरू, जीवन बीमा कम्पनी तथा मर्चेन्ट बैंकर र क्यापिटल कम्पनीका सञ्चालक तथा लगानी समिति सदस्यहरू समेटिएका छन्।

ADVERTISEMENT

सेयर कारोबार रोक्का गरिएकामा हिमालयन रिइन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, सञ्चालकहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवाला तथा लगानी समिति सदस्य मनिष कुमार छन् ।

नेपाल माइक्रो इन्स्योरेन्सका सञ्चालक सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण, बद्री सिग्देल, प्रविना दाहाल र सुजल मल्ल, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सञ्चालक तथा लगानी समितिसम्बन्धी पदाधिकारीहरू डा. जयप्रकाश जैसवाल, उदयनारायण भट्टराई, प्रमोद प्रसाद भट्टराई, ज्योति अग्रवाल, नवराज मुडभरी, प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा अन्य सदस्यहरू पनि अनुसन्धान दायरामा रहेका छन्।

हिमालयन लाइफ इन्स्योरेन्सका सञ्चालक तथा लगानी समिति सदस्यहरू विवेककुमार शाह, लक्ष्मण ज्ञावली, राजीवप्रसाद प्याकुरेल, आशीष ढकाल, सौरभ दुगड, सचिन आचार्य, प्रमिला केसी र दिगम्बर झा, हिमालय सेक्युरिटी बैंकरका सञ्चालक सीताराम वाग्ले र आकांक्षा गुप्ता, हिमालयन क्यापसर्भका अध्यक्ष शिशिर गैह्रे, हिमालयन इन्भेष्टमेन्ट बैंकरका अध्यक्ष कपिल कुमार दाहालसहित राजन प्रसाद अधिकारी, बिनु घिमिरे, नारायण कुमार अधिकारी, उत्सव प्रधानांग, सुभाष पौडेल, शालिनी संघई र प्रतिक जोशीको नाम छ ।

क्रेष्ट माइक्रो इन्स्योरेन्सका विदुर पुरी तथा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सकी कीर्तिका अग्रवाल र दिनेश सरियाको नाम पनि छ । नेपाल धितोपत्र बोर्डले भने सीआईबीको पत्रअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।