काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकरबाटै मार्जिन कारोबार गराउन नयाँ निर्देशन जारी गर्ने भएको छ । सोबोनले मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०८२ (प्रारम्भिक मस्यौदा) धितोपत्र दलाल व्यवसायी मार्फत् लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने उद्देश्यले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी निर्देशनहरु जारी गरेको हो ।
मार्जिन कारोवारका लागि योग्य सेयरः मार्जिन कारोबार सुविधाको प्रयोजनका लागि देहायका सूचिकृत संगठित संस्थाको सेयर मात्र योग्य हुनेछ । कम्तिमा ५० लाख कित्ता सर्वसाधारण सेयर सूचिकरण भएको, नेटवर्थ चुक्ता पुँजी बराबर र सो भन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष लाभांश वितरण गरेको, प्रारम्भिक सार्वजनिक निष्कासन मार्फत् निष्कासन भएको सेयर सूचिकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको, धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु ।
कम्पनीको चुक्ता पुँजी कम्तिमा २० करोड रुपैयाँ भएको, राफसाफ सदस्यता प्राप्त गरेको, निक्षेप सदस्यता प्राप्त गरेको, धितोपत्र बजारले तोके बमोजिमको योग्यता पूरा गरेको हुनुपर्नेछ ।
धितोपत्र दलाल व्यवासायीले मार्जिन कारोवार सुविधा दिनु अगावै लेखापरीक्षकबाट प्रमाणित आफ्नो वित्तीय विवरण सहित धितोपत्र बजारमा सहमतिको लागि निवेदन पेश गर्नु पर्नेछ ।
धितोपत्र बजारले उपदफा (१) बमोजिम प्राप्त भएको निवेदनका सम्बन्धमा आवश्यक अध्ययन गरी सहमति प्रदान गर्नेछ र सोको जानकारी बोर्डलाई समेत गराउनु पर्नेछ । यस निर्देशन लागू हुनुपूर्व धितोपत्र बजारबाट मार्जिन कारोबार सुविधा प्रदान गर्न सहमति लिएका धितोपत्र दलाल व्यवसायीले पुनः सहमति लिइराख्नु पर्नेछैन । तर, यस निर्देशन बमोजिम योग्यता पुगेको कागजात धितोपत्र बजारमा पेश गर्नुपर्नेछ ।
मार्जिन र सम्भार मार्जिन सम्बन्धी सेयरको मूल्य गणना गर्दा १८० दिनको औषत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ६० प्रतिशतले हुन आउने मूल्यलाई मात्र गणना गर्नुपर्नेछ । सेयरको बजार मूल्यमा हुने परिवर्तनका कारण सम्भार मार्जिन कायम हुन आएमा उपदफा (५) बमोजिम धितो बन्दकीमा राखिएको सेयर लगानीकर्ताको अनुरोधमा धितोपत्र दलाल व्यवसायीले फुकुवा गरिदिनु पर्नेछ ।
धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको बढिमा २० प्रतिशतभन्दा बढी मार्जिन कारोवार सुविधा उपलब्ध गराउन सक्ने छैन ।
धितोपत्र बजारले गरेको वर्गिकरणमा ‘ए’ वर्गमा परेको सूचिकृत संगठित संस्थाको सेयरमा दिइएको मार्जिन कारोवार सुविधामा ३० प्रतिशत, धितोपत्र बजारले गरेको वर्गिकरणमा ‘बी’ वर्गमा परेको सूचिकृत संगठित संस्थाको सेयरमा दिइएको मार्जिन कारोवार सुविधामा ४० प्रतिशत, धितोपत्र बजारले गरेको वर्गिकरणमा ‘ए’ र ‘बी’ वर्गमा नपरेको तथा यस निर्देशनको दफा ३ बमोजिम योग्य सूचिकृत संगठित संस्थाको शेयरमा दिइएको
मार्जिन कारोबार सुविधामा ३५ प्रतिशत कायम राख्नुपर्नेछ ।
धितोपत्र दलाल व्यवसायीले लगानीकर्तासँग कायम गर्नुपर्ने न्यूनतम सम्भार मार्जिन धितोपत्र बजारले गरेको वर्गिकरणमा ‘ए’ वर्गमा परेको सूचिकृत भएको संगठित संस्थाको शेयरमा दिइएको मार्जिन कारोबार सुविधामा २० प्रतिशत, धितोपत्र बजारले गरेको वर्गिकरणमा ‘बी’ वर्गमा परेको सूचिकृत भएको संगठित संस्थाको सेयरमा दिइएको मार्जिन कारोबार सुविधामा ३० प्रतिशत, धितोपत्र बजारले गरेको वर्गिकरणमा ‘ए’ र ‘बी’ वर्गमा नपरेको तथा यस निर्देशनको दफा ३ बमोजिम योग्य सूचिकृत भएको संगठित संस्थाको सेयरमा दिइएको मार्जिन कारोवार सुविधामा २५ प्रतिशत कायम राख्नुपर्नेछ ।





