काठमाडौं । बालेन्द्र शाह बालेन नेतृत्वको सरकार एकपछि अर्को विवादमा परेपछि रास्वपा सभापति रवि लामिछानेको खोजी भएको छ । पार्टीको एकमना सरकार रहेका बेला तीन दिनमा तीनजना नागरिकले आत्मदाह गर्नुपर्ने अवस्था उत्पन्न भएपछि र सुकुमवासीलाई घरको न घाटको अवस्थामा पुर्याएपछि प्रधानमन्त्री बालेन विवादमा तानिएका छन् ।
खोला किनारमा रहेका सुकुमवासीलाई व्यवस्थापन गर्ने नाममा आत्महत्याको अवस्थामा पुर्याएपछि सरकारको चौतर्फी आलोचना सुरु भएको छ । तीन महिनामै बालेन्द्र सरकार चरम असफल बन्ने दिशाउन्मुख भएपछि रास्वपा सभापति लामिछानेको खोजी भएको छ । शनिबारदेखि रवि लामिछानेको खोजी सामाजिक सञ्जालमा भइरहेको छ ।
आफ्नै पार्टी नेतृत्वको सरकारले चुनावका बेला जनतासामु वाचा गरेअनुसार काम गर्न नसकेको र एकपछि अर्को विवादास्पद निर्णय गर्न लागेको सामाजिक सञ्जाल प्रयोगकर्ताले रविलाई हस्तक्षेप गर्न ढिला भएको भन्दै उनको खोजी गरेका हुन् । यत्रो घटना हुँदा पनि रविले सार्वजनिक रूपमा केही प्रतिक्रिया र टिप्पणी नगरेपछि उनको समेत आलोचना हुन थालेको छ ।
‘बालेन आए डोजर लिएर आउँछू भन्ने आममानिसको आशंका सुकुम्बासी विचल्ली पारेर उनले पुष्टि गरेका छन् । डोजर आए छाती थाप्छु भनेर भोट मागेका रवि लामिछाने भने अहिले करिब करिब भूमिगत छ्न्। सत्तारुढ पार्टीको सभापति नै यसरी गुमनाम हुनुलाई धेरैले राम्रो मानेका छैनन् । सरकारलाई सही ट्रयाकमा ल्याउने काम पार्टी सभापतिको पनि हो । तर सरकारको काममा हस्तक्षेप नगर्ने भनेर पहिल्यै कसम खाइसकेकाले पनि अहिले बालेनको हात माथि परेको छ । हिजो रविले यस्तो दिन आउला भन्नेसमेत सोचेका पनि थिएनन् । किनभने बालेनकै नाममा रास्वपाले ६० देखि ७० प्रतिशत मत प्राप्त गरेको सबैले थाहा पाएकै हो ।
तैपनि तीन महिनामै रास्वपा सरकार चरम विवादमा तानिएपछि रविले सार्वजनिक रूपमा बोल्न धक मानिरहेको उनी निकट एक नेताले बताए । कोलौ पहिले बालेनसँग गरेका समझदारी उल्लंघन हुने डर, नबोलौं दिनप्रतिदिन जनतामा रास्वपाको साख घट्ने क्रम जारी छ । मुगुका गणेश नेपाली, सर्लाहीका विवेक मण्डल र काठमाडौंका अश्विन राउतले आत्मदाह प्रयास गरेपछि यसले देशमा ठूलो तरंग सिर्जना गरेको छ । तीन दिनमा तीनजनाले आत्मदाह गर्नु सामान्य संकेत होइन । यसले जनता भित्रभित्रै विस्फोटको अवस्थामा पुगिसकेको देखिएको भन्दै सरकारलाई लगाम लगाउन रविमाथि दबाब परेको बताइन्छ ।
अझ हिजाे जेनजी आन्दाेलनका अगुवामध्येका एक माजिद अन्सारीलाई शनिबार कीर्तिपुरमा प्रहरीले पक्राउ गर्दै कुटपिट गरेपछि त अहिले रास्वपा सरकार निकै आलाेचित भएकाे छ ।





