काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुलमान घिसिङलाई चाँडै पार्टीको उपसभापति दिने बताएका छन् । बुधबार राति ऊर्जामन्त्री पदबाट राजीनामा दिएका घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको लामिछानेको भनाइ छ ।
बिहीबार चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै लामिछानेले भने, ‘उहाँसँग सरकारमै रहनुभएको समयमा हामीले सहमति गरेका थियौंँ । अब उहाँले राजीनामा दिएर आउनुभएको छ, त्यसैले सो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरु हुन्छ ।’
केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच सहमति भएको थियो । सो सहमतिअनुसार घिसिङलाई उपसभापतिसहित दोस्रो वरीयतामा राख्ने निर्णय भएको थियो । तर रास्वपाले अहिलेसम्म घिसिङसँग छलफल गरेको छैन ।
घिसिङले बुधबार राजीनामा दिएपछि जारी गरेको वक्तव्यमा पनि आफू कुनै दलको सदस्य नभएको दाबी गरेका छन् । रास्वपासँग एकता भए पनि सदस्यता नलिएको उनको भनाइ छ । घिसिङले बिहीबारदेखि नै राजनीतिमा सक्रिय हुने घोषणा गरेका छन् । उज्यालाे नेपाल पार्टीबाट अहिलेसम्म रास्वपामा काेही पनि पदाधिकारी र केन्द्रीय सदस्य मनाेनीत भएका छैनन् ।







