काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका हुन्।
भारतस्थित नेपाली दूतावासका अनुसार भेटवार्तामा द्विपक्षीय सुरक्षा सहयोग सुदृढीकरण, सीमा व्यवस्थापन, अन्तरदेशीय अपराध नियन्त्रण तथा विपद् तयारी र प्रतिकार्य क्षमता अभिवृद्धिका विषयमा छलफल भएको थियो।
भेटका क्रममा गृहमन्त्री गुरुङले सार्वभौम समानता, पारस्परिक सम्मान र विश्वासका आधारमा दुवै देशका जनताको हितका लागि व्यावहारिक सहयोग अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
त्यसैगरी, नेपालमा हालै आएको बाढी र पहिरोपछि भारत सरकारले समयमै सहयोग गरेकोमा गुरुङले भारत सरकारप्रति धन्यवाद व्यक्त गरेका छन्।








