काठमाडौं । राजमार्गका होटल तथा रेस्टुरेन्टमा खाएको खानाका कारण यात्रु बिरामी भए सम्बन्धित सवारी चालक र होटल सञ्चालकलाई कारबाही गरिने भएको छ। यातायात व्यवस्था विभागले मंगलबार सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो।

पूर्वाधार विकास मन्त्रालयमा भएको सरोकारवालाको बैठकपछि विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनका चालकलाई सफा, स्वच्छ र गुणस्तरीय खाना उपलब्ध हुने होटल तथा रेस्टुरेन्टमा मात्र यात्रुका लागि खाजा, नास्ता र खाना खान सवारी रोक्न निर्देशन दिएको छ।

ADVERTISEMENT

सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छता स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिनुपर्ने विभागले जनाएको छ।

ADVERTISEMENT

विभागका अनुसार होटल तथा रेस्टुरेन्टमा उपलब्ध हुने खाजा, नास्ता र खानाको गुणस्तर न्यून भएका कारण यात्रु बिरामी भएको गुनासो आएको छ। यस विषयमा सम्बन्धित सरकारी निकायले सूक्ष्म निगरानी गरिरहेको पनि विभागले जनाएको छ।

खाना खाएका कारण यात्रु बिरामी भएको पाइए सम्बन्धित सवारी चालक र होटल वा रेस्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।

ADVERTISEMENT

होटल तथा रेस्टुरेन्टमा खानाको स्वच्छता र गुणस्तरमा कमी पाइएमा वा मूल्यमा ठगी भएमा यात्रुले नेपाल प्रहरीको हेल्पलाइन १०० मा फोन गरेर जानकारी गराउन सक्नेछन्। त्यस्तै, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय वा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कार्यालयमा पनि उजुरी वा जानकारी दिन सकिनेछ।