काठमाडौं, नेपाल राष्ट्र बैंकले वित्तीय सेवाप्रति ग्राहकको सन्तुष्टि स्तर मापन गर्ने उद्देश्यले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३’ सञ्चालन गर्ने भएको छ। राष्ट्र बैंकले मंगलबार सूचना जारी गर्दै देशभरका ७७ वटै जिल्लामा सर्वेक्षण गर्न लागिएको जनाएको हो।
राष्ट्र बैंकका अनुसार सर्वेक्षणका लागि सबै प्रकारका स्थानीय तह समेटिनेछन्। रेन्डम स्याम्पलिङ विधिबाट वडा छनोट गरी कुल १० हजार ४०५ नमुना सङ्कलन गरिनेछ।सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, सेवा गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवाप्रति ग्राहकहरूको धारणा र अनुभव सङ्कलन गरिने राष्ट्र बैंकले जनाएको छ।
बैंकका अनुसार सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षण तथा वित्तीय सेवाको गुणस्तर अभिवृद्धिसम्बन्धी नीति, कार्यक्रम र नियामकीय व्यवस्थामा सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन सम्बन्धित सबै पक्षलाई यथार्थ र निष्पक्ष जानकारी उपलब्ध गराई तथ्याङ्क सङ्कलन कार्यमा सहयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।
राष्ट्र बैंकले सर्वेक्षणमा सहभागिता पूर्ण रूपमा स्वेच्छिक हुने जनाएको छ। सहभागीले आफूलाई असहज लागेका प्रश्नहरूको उत्तर दिन अस्वीकार गर्न सक्ने व्यवस्था पनि गरिएको छ साथै, सर्वेक्षणका क्रममा सङ्कलन गरिने सम्पूर्ण विवरण तथा जानकारी तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिने र केवल तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग गरिने स्पष्ट पारेको छ।
वित्तीय ग्राहक, बैंक तथा वित्तीय संस्था, सरोकारवाला निकाय तथा आम सर्वसाधारणलाई सर्वेक्षण कार्यमा आवश्यक सहयोग र सहकार्य गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।












