काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न वित्तीय प्रणालीबाट थप २०० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै एकैपटक ठूलो रकम खिच्न लागेको हो। यसका लागि आज बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल आह्वान गरिएको छ।

ADVERTISEMENT

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।

ADVERTISEMENT

बोलकबोल आज दिउँसो २ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत गर्न सकिनेछ। निक्षेप राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल रकम १० करोड रुपैयाँले भाग जाने हुनुपर्नेछ।

यो २८ दिने निक्षेप संकलन उपकरण हुनेछ। यसमा सहभागी बैंक तथा वित्तीय संस्थालाई आगामी पुस ३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यसअघि पनि राष्ट्र बैंकले मंसिर १ गते बैंकिङ प्रणालीबाट २०० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो। बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा खिच्ने प्रक्रिया निरन्तरता दिएको हो।