काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकमैत्री सेवा प्रवाह गरिरहेको दाबी गरे पनि बैंकिङ सेवाप्रति धेरै ग्राहक असन्तुष्ट रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ। बैंकिङ क्षेत्र प्रविधिमैत्री बन्दै गए पनि पछिल्लो एक वर्षमा बैंकिङ सेवासम्बन्धी ४ हजार ३८८ वटा उजुरी दर्ता हुनु ग्राहक असन्तुष्टिको संकेत भएको प्रतिवेदनले औंल्याएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार प्राप्त कुल उजुरी तथा गुनासामध्ये लिखित रूपमा ४६२ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये ४४३ वटा उजुरी फर्छ्योट भएका छन् भने १९ वटा उजुरी प्रक्रियामा रहेका छन्।
सबैभन्दा धेरै उजुरी ग्रिभान्स पोर्टल (गुनासो दर्ता तथा व्यवस्थापन अनलाइन प्रणाली) मार्फत आएका छन्। यस प्रणालीमार्फत ३ हजार ५३९ वटा उजुरी दर्ता हुँदा २ हजार ७६३ वटा फर्छ्योट भएका छन् भने ३९८ वटा उजुरी प्रक्रियामा रहेका छन्।
त्यसैगरी, टेलिफोन, इमेल तथा मौखिक रूपमा ३८७ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये ३२७ वटा उजुरी फर्छ्योट भएका छन् भने ५९ वटा उजुरी प्रक्रियामा रहेका छन्।
नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१/८२ (सन् २०२४/२५) को वित्तीय स्थायित्व प्रतिवेदन अनुसार कुल उजुरीमध्ये ३ हजार ५३३ वटा उजुरी फर्छ्योट भएका छन् भने ४७५ वटा उजुरी अझै प्रक्रियामै रहेका छन्।
प्रतिवेदनमा वित्तीय उपभोक्ता संरक्षण वित्तीय प्रणालीको स्थायित्वका लागि आधारभूत पक्ष भएको उल्लेख गरिएको छ। उपभोक्ताको अधिकार संरक्षणले वित्तीय प्रणालीप्रतिको विश्वास बढाउने, सञ्चालन जोखिम घटाउने तथा जिम्मेवार आर्थिक व्यवहार प्रवर्द्धन गर्ने प्रतिवेदनमा उल्लेख छ।
राष्ट्र बैंकअन्तर्गतको वित्तीय समावेशीकरण तथा उपभोक्ता संरक्षण विभाग मार्फत गुनासो समाधानको काम हुँदै आएको छ। प्रतिवेदनअनुसार सबैभन्दा धेरै गुनासा ग्रिभान्स पोर्टल मार्फत आएका छन्। यस प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले आफूलाई परेका समस्या, उजुरी वा गुनासा अनलाइनमार्फत दर्ता गर्न सक्छन्। सम्बन्धित निकायले पनि सोही पोर्टलमार्फत उजुरीको अवस्था हेर्ने, अनुसन्धान गर्ने तथा समाधान गर्ने काम गर्छ।
प्रतिवेदनअनुसार राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा आठ वटा वाणिज्य बैंक र एउटा विकास बैंक को बजार आचरणसम्बन्धी निरीक्षण गरेको छ। आगामी वर्षहरूमा सबै प्रकारका बैंक तथा वित्तीय संस्थामा वित्तीय उपभोक्ता संरक्षण तथा बजार आचरणसम्बन्धी निरीक्षण विस्तार गर्ने योजना रहेको राष्ट्र बैंकले जनाएको छ।






