काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। पछिल्ला सात कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से आज उच्च अंकले बढेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४.५९ अंक बढेर २६५२.९३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ५.७७, फ्लोट इण्डेक्स २.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०४ अंक बढेको छ।

ADVERTISEMENT

बुधबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.६० प्रतिशत बढेको छ। जलविद्युत, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

ADVERTISEMENT

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। मंगलबार तीन अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज ३६२ स्टकको ५६ हजार ८५० पटकको कारोबारमा तीन अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँबराबरको ९५ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

आज लक्ष्मी सनराइज बैंकको २८ करोड ८४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको साढे १७ करोड, आँखु खोला जलविद्युत कम्पनीको कारोबार १७ करोड रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।

बुधबार स्नो रिभर्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य ६८ रुपैयाँ १० पैसा बढेर ५२२ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ।
सिवाईसी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १४ प्रतिशतभन्दा बढी र भुजुङ हाइड्रोपावरको सेयरमूल्य करिब १४ प्रतिशत बढेको छ।