काठमाडौं । साताको चौथो दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । यसअघिका दुई कारोबार बढेर बन्द भएको नेप्से परिसूचक आज भने घटेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ विन्दुमा झरेको छ । १३ उपसमूहमध्ये एकबाहेक सबै उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।
कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.७१ प्रतिशत घटेको छ। निर्जीवन बीमा र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । बुधबार पाँच अर्ब ७३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३५३ स्टकको ५१ हजार ६०१ पटकको कारोबारमा चार अर्ब ७० करोड ३३ लाख २६ हजार रुपैयाँबराबरको एक करोड ६ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
एभरेष्ट बैंकको अपरिवर्तिय ऋणपत्रको ३४ करोड १ लाख रुपैयाँबराबरको कारोबार भएको छ। आँखु खोला जलविद्युत कम्पनी ३२ करोड र सेन्ट्रल फाइनान्सको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ।
आज कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य यस दिन ८५ रुपैयाँ ९० पैसा बढर ६५८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ।
न्यादी हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको ८.५ प्रतिशत एसबिएल डिबेञ्चर २०८४ को मूल्य सर्वाधिक १०.४८ प्रतिशत घटेको छ।








