काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २.२५ अंक घटेको छ । यसअघि शुक्रबार पनि नेप्से ७.३७ अंक घटेको थियो ।
आजको कारोबारपछि नेप्से परिसूचक २६४१ अंकमा कायम भएको छ । आज ७२ कम्पनीको मूल्य बढेको छ भने २०१ को घटेको छ, त्यस्तै ७ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब २७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५२ करोडको भयो । आजको कारोबार रकम साउन ११ गतेयताकै उच्च हो ।
फाइनान्स समूह सबैभन्दा धेरै १.१४ प्रतिशत घटेको छ भने उत्पादन तथा प्रशोधन सबैभन्दा धेरै १.३० प्रतिशत बढेको छ ।
बैंकिङ ०.५०, विकास बैंक ०.२९, होटल तथा पर्यटन ०.५६, लगानी ०.५९, जीवन बीमा ०.३६, माइक्रोफाइनान्स ०.६६ तथा निर्जीवन बीमा ०.६१ प्रतिशत घटे । त्यस्तै जलविद्युत् ०.४५, अन्य ०.४७ र व्यापार ०.१४ प्रतिशत बढे ।
समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै २ अर्ब २३ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ६५ करोड, उत्पादन तथा प्रशोधन १६ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको ११.१७, सगरमाथा जलविद्युत कम्पनीको ११.०६, विकास हाइड्रोपावरको ८.२२ प्रतिशत मूल्य बढ्यो ।
फर्स्ट माइक्रोफाइनान्सको ६.६३, महिला लघुवित्तको ६.५७, खानीखोला हाइड्रोपावरको ६.३३, सेन्ट्रल फाइनान्सको ४.५४ प्रतिशत मूल्य घट्यो ।
आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, रिडी पावर, खानीखोला हाइड्रोपावर र विकास हाइड्रोपावर क्रमशः अगाडि रहे ।





