काठमाडौं । केही समयअघि एमाले अध्यक्ष केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच गुण्डुमा दुई घन्टाभन्दा बढी समय भेटवार्ता भयो । फागुन २१ को चुनावी परिणामपछि राजनीतिक रूपमा कमजोर मानिएका ओलीलाई भेट्न भण्डारी आफैं गुण्ड् पुगेकी हुन् ।
एमालेमा ओलीलाई अध्यक्षबाट हटाएर पार्टी पुनर्गठनको प्रयास भइरहेको चर्चा चलिरहेका बेला ओली र भण्डारीबीचको संवादलाई धेरैले अर्थपूर्ण मानेका थिए । पार्टीमा सक्रिय हुन खोजेपछि ओलीले भण्डारीको पार्टी सदस्यता नै होल्ड गरिदिएका थिए। अहिलेसम्म पनि उनको सदस्यता नवीकरण भएको छैन । यो घटनाले ओली र भण्डारीबीच हार्दिक सम्बन्धमा ब्रेक लागेको थियो । तर गुण्डु भेटवार्तापछि भने ओली र भण्डारीबीच सम्बन्धमा सुधार आएको अनुमान गरिएको छ ।
३३औं मदन आश्रित स्मृति सभामा पूर्वराष्ट्रपतिसमेत रहेकी भण्डारीलाई एमालेले प्रमुख अतिथि बनाएपछि अहिले यसबारे अनेकन चर्चा परिचर्चा हुन थालेको छ । एमालेको औपचारिक कार्यक्रममा ओली प्रमुख अतिथि बन्दै आएका छन् । तर आइतबार एमालेको औपचारिक कार्यक्रमको प्रमुख अतिथि भण्डारी बनिन् । धेरैले यसलाई ओली र भण्डारीबीच शीत युद्ध समाप्त भएको अनुमान गरेका छन् ।

भण्डारीले एमालेको आत्मा सुधार, एकता र जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरी राखेर अघि बढ्न सुझाव दिइन् । उनले अहिलेको राजनीतिक चुनौतीहरूप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गरिन् । एमालेमा सिद्धान्त र व्यवहारबीच देखिने असन्तुलनका कारण समाजमा प्रश्न उठ्ने गरेको उल्लेख गर्दै उनले त्यसलाई अन्त्य गर्न जनमुखी कार्यशैली, आत्म अनुशासन र सेवाभावलाई व्यवहारमा उतार्नु जरुरी रहेको बताइन् ।
लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको काममा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै भण्डारीले अव जनताको सेवाभावमा केन्द्रित हुनुपर्ने बेला आएको स्पस्ट पारिन् । जनताको सुख–दुःखमा साथ दिन र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा पनि एमाले नेताकार्यकर्तालाई उनले आह्वान गरिन् ।
स्मृति सभामा एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले पार्टी अध्यक्ष ओली र एमालेको रक्षा गरेर अघि बढ्नुपर्ने गम्भीर जिम्मेवारी सिंगो पार्टी पंक्तिको काँधमा आएको बताए।
थापाले देशी(विदेशी शक्तिहरू मिलेर एमाले र यसको मूल नेतृत्व ओलीलाई समाप्त पार्ने ठूलो षड्यन्त्र रचिरहेको दाबी गरे। वर्तमान सरकारले ल्याएको अध्यादेश, मन्त्रिपरिषद्का निर्णय, र अध्यक्ष ओलीमाथिको गिरफ्तारी तथा मुद्दाहरूको प्रकृतिलाई दासढुंगा घटनाकै कडीका रूपमा व्याख्या गर्दै थापाले एमालेलाई सखाप पार्ने अभियानविरुद्ध एकजुट हुन आह्वान गरे।





