काठमाडौं । पुँजी बजार निरन्तर ओरालो लागेको छ । नयाँ सरकार बन्दा साढे २८ सय विन्दुमा रहेको नेप्से परिसूचक २६ सय विन्दुमा ओर्लिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह बालेन र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पुँजी बजारले विश्वास गरेको देखिएको छैन । तीन महिनाको अवधिमा सर्वसाधारणले पाँच अर्ब रुपैयाँ गुमाइसकेका छन् ।

लगातार सातौं दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। मंगलबार नेप्से परिसूचक २४.६३ अंक घटेर २६०८.३३ विन्दुमा झरेको छ।

ADVERTISEMENT

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.७४ प्रतिशत घटेको छ। वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्से घटे पनि यस दिन कारोबार रकम भने आज सामान्य बढेको छ। सोमबार दुई अर्ब ६७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३६५ स्टकको ७९ हजार २८६ पटकको कारोबारमा तीन अर्ब २५ करोड ८७ लाख ५८ हजार रुपैयाँबराबरको ८७ लाख ३७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

आज सिद्धार्थ बैंकको १३ करोड ३९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। टक्सार पिखुवा खोला हाइड्रोपावरको करिब साढे ११ करोड र याम्बालिङ हाइड्रोपावरको कारोबार रकम करिब १० करोड रुपैयाँ पुगेको छ।

मंगलबार स्नो रिभर्स लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयरमूल्य ५९ रुपैयाँ २० पैसा बढेर ४५४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य १३ प्रतिशतभन्दा बढी बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ११ प्रतिशत बढेको छ। कारोबारमा आएको टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १४.०३ प्रतिशत घटेको छ।