काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित ‘मन्त्र थकाली’ रेस्टुरेन्टलाई सरकारले २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ। खानामा किरा परेको भन्दै उपभोक्ताबाट उजुरी आएपछि गरिएको अनुगमनमा भान्साको सरसफाइमा गम्भीर कमजोरी भेटिएको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको र्‍यापिड रेस्पोन्स टिम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले शनिबार रेस्टुरेन्टमा आकस्मिक अनुगमन गरेको थियो।

ADVERTISEMENT

अनुगमनका क्रममा पकाएका खाद्यपदार्थ नछोपी राखिएको, फ्रिज तथा भान्सामा साङ्ला र भुसुना भेटिएको र किचेनको ढल निकाससमेत फोहोर रहेको पाइएको टोलीले जनाएको छ।

ADVERTISEMENT

त्यस्तै, फ्रिजमा खाद्यवस्तु अव्यवस्थित रूपमा राखिएको, डस्टबिन खुला छाडिएको र खानामा किरा पर्न सक्ने अवस्था रहेको भेटिएको थियो। यी कमजोरीलाई गम्भीर मान्दै टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रेस्टुरेन्टलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको हो।

अनुगमन टोलीले पत्रिकामा पोको पारेर राखिएको करिब एक किलो फ्राइड आलु पनि स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै तत्काल नष्ट गरेको छ। टोलीले रेस्टुरेन्ट सञ्चालकलाई पकाएको खाना राम्ररी छोपेर राख्न, कीट नियन्त्रण प्रभावकारी बनाउन र सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिएको छ।

ADVERTISEMENT

विभागले सात दिनभित्र कमजोरी सुधार गरी प्रमाणसहित उपस्थित हुनसमेत भनेको छ। तोकिएको समयभित्र सुधार नगरे खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप कारबाही गरिने विभागले चेतावनी दिएको छ।