काठमाडौं । पुँजी बजारको उत्साह एक दिन पनि टिक्न सकेन । सोमबार ३८ अंकले बढेर उत्साह छाएको सेयर बजार मंगलबार उच्च अंक्ले घटेर बन्द भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.४४ अंकले ओरालो लागेर २७४४.४० विन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १५ अंकले ओरालो लागेर ४६९ दशमलव २६ मा सीमित भएको छ ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। सोमबार चार अर्ब ६१ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । आज ३३८ स्टकको ६२ हजार ५१२ पटकको कारोबारमा चार अर्ब ६६ करोड ५० लाख २० हजार रुपैयाँबराबरको एक करोड ६ लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबारका आधारमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर कम्पनी, शिवम् सिमेन्ट र एवाइ प्यानल लिमिटेड शीर्षस्थानमा छ । नेशनल हाइड्रोपावर कम्पनीको १८ करोड ९९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको १८ करोड, रिडी पावर कम्पनीको कारोबार १७ करोड रुपैयाँ नाघेको छ।
धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको सेयरमूल्य यस दिन १९५ रुपैयाँ बढेर एक हजार ३९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। अन्य बढेका स्टकहरुको मूल्य वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ।
१३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.३३ प्रतिशत घटेको छ। वित्त, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ





