चितवन । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटप्रति चितवनका उद्योगी, व्यवसायी तथा विभिन्न पेशाकर्मीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। भन्सार दर घटाउने, अन्तःशुल्क हटाउने, आयकरमा राहत दिने तथा उत्पादनमुखी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिका कारण निजी क्षेत्रले बजेटलाई स्वागतयोग्य मानेको हो।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुमनकुमार श्रेष्ठका अनुसार उद्योग लक्षित नीतिका कारण उद्योगी व्यवसायी प्रत्यक्ष लाभान्वित हुनेछन्। सरकारले वार्षिक छ लाख रुपैयाँसम्मको आम्दानीमा लागू हुने कर सीमालाई बढाएर १० लाख रुपैयाँ पुर्‍याएको तथा अधिकतम आयकर दर ३९ प्रतिशतबाट २९ प्रतिशतमा झारेको निर्णयले चिकित्सक, इञ्जिनियरलगायत उच्च आय भएका पेशाकर्मीलाई राहत पुग्ने उनको भनाइ छ।

ADVERTISEMENT

श्रेष्ठले ३६० प्रकारका वस्तुमा अन्तःशुल्क हटाउने र उद्योगका लागि कर प्रणालीलाई थप सरल बनाउने सरकारको प्रयास सकारात्मक रहेको बताए। उनका अनुसार यसले बजारमा माग र उपभोग बढाउन सहयोग पुग्नेछ भने बैंकिङ, अटोमोबाइल तथा घरजग्गा क्षेत्रले समेत प्रत्यक्ष लाभ लिन सक्नेछन्। देवघाटलगायत धार्मिक क्षेत्रको प्रवर्द्धन तथा भरतपुर विमानस्थल विस्तार गरी रात्रिकालीन उडान सञ्चालन गर्ने योजनाले चितवनको पर्यटन क्षेत्रलाई पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।

बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष त्रिलोचन कँडेलले बजेटले उत्पादन लागत घटाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार २७३ प्रकारका औद्योगिक कच्चापदार्थमा भन्सार दर घटाइएको तथा तयारी वस्तुभन्दा कच्चापदार्थ सस्तो बनाउने नीतिले घरेलु उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउनेछ। उद्योग सञ्चालन खर्च कम हुने, उत्पादन र निर्यात वृद्धि हुने तथा पुँजी बजारमा सुधार आउने विश्वास पनि उनले व्यक्त गरे।

ADVERTISEMENT

उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजन गौतमले यो बजेट हालसम्मकै उत्कृष्टमध्ये एक भएको दाबी गरे। बजेटले कुनै विशेष क्षेत्र वा पहुँचका आधारमा स्रोत वितरण नगरी आवश्यकताका आधारमा बजेट विनियोजन गरेको उनको भनाइ छ। कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै उनले दुई करोड रुपैयाँसम्म लगानी गर्ने किसानलाई ४० प्रतिशत अनुदान दिने व्यवस्थाले कृषिको व्यवसायीकरण र खाद्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने बताए। उनका अनुसार यसले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्‍याउनेछ।

गौतमले बजेटले अधिकांश क्षेत्रलाई सम्बोधन गरेकाले अब यसको प्रभावकारिता कार्यान्वयनमा निर्भर रहने बताए। विगतमा सकारात्मक बजेट ल्याइए पनि राजनीतिक अस्थिरता र कमजोर कार्यान्वयनका कारण अपेक्षित परिणाम प्राप्त हुन नसकेको भन्दै उनले यसपटक त्यस्तो अवस्था नदोहोरिने अपेक्षा व्यक्त गरे।

यस्तै, च्याम्बर अफ कमर्स चितवनका अध्यक्ष गोपाल भट्टराईले बजेटलाई आशावादी र तुलनात्मक रूपमा सकारात्मक भन्दै मध्यमवर्गीय नागरिक तथा निजी क्षेत्र दुवैलाई सम्बोधन गर्ने प्रयास गरिएको बताए। उनका अनुसार बजेटका अधिकांश व्यवस्था व्यवहारमा लागू भए निजी क्षेत्रको मनोबल बढ्नुका साथै आर्थिक गतिविधिमा समेत सुधार आउनेछ।

उद्योगी, व्यवसायी र पेशाकर्मीहरूको समग्र निष्कर्ष भने बजेट निजी क्षेत्रमैत्री रहेको र उत्पादन, लगानी तथा आर्थिक गतिविधि विस्तारका लागि अनुकूल वातावरण सिर्जना गर्ने खालको रहेको छ। तर, उनीहरूले यसको वास्तविक सफलता कार्यान्वयनको प्रभावकारितामै निर्भर रहने बताएका छन्।