काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपालमा कम्युनिस्ट आन्दोलन जीवित नभएको बताएका छन् ।
सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाली कम्युनिस्ट आन्दोलन अहिले वैचारिक रूपमा अलमल, राजनीतिक रूपमा गञ्जागोल र सांगठनिक रूपमा नोकरशाहीतन्त्रमा परिणत भइसकेको बताए ।
शर्माले अहिले कम्युनिस्ट आन्दोलनभन्दा पनि त्यसमा आवद्ध नेता र समर्थक मात्रै बाँकी रहेको टिप्पणी गर्दै आन्दोलनको मूल शक्ति विघटन भइसकेको दाबी गरे। यस्तो अवस्थामा आन्दोलनलाई पुनर्जीवित गर्न व्यापक पुनर्गठन अपरिहार्य रहेको उनको भनाइ छ।
‘नेपाली कम्युनिस्ट आन्दोलन अल्मलियो। वैचारिक रुपले अल्मलियो, राजनीतिक रुपमा गञ्जागोलमा गयो। र, सांगठनिक रुपले त एउटा नोकरशाहीतन्त्रमा फेरियो र विघटन भयो। मलाई लाग्दैन यहाँ अहिले कम्युनिस्ट आन्दोलन जीवित छ। कम्युनिस्ट आन्दोलनमा लागेका नेताहरू मात्रै जीवित हो हामी। हामीलाई समर्थन गरेका जनता र हामी मात्रै जीवित हो,’ उनले भने ।
नेता शर्माले एक समय देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूसँग करिब ७० प्रतिशत जनसमर्थन रहेको उल्लेख गर्दै अहिले त्यो आधार उल्लेखनीय रूपमा खस्किएको बताए। कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्न व्यापक पुनर्गठन अपरिहार्य रहेको भन्दै उनले त्यसका लागि बृहत् छलफलको आवश्यकता रहेको बताए ।





