काठमाडौं । माओवादी स्थायी कमिटी बैठक सोमबार सकिँदैछ । पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा बस्ने बैठकमा स्थायी कमिटी सदस्यहरुले उठाएका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएर सकिनेछ ।

प्रचण्डले जवाफ दिनुअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङले आआफ्नो धारणा राख्नेछन् । बैठकमा प्रचण्डको दस्ताबेजमा उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्कीलगायत केही नेताले प्रश्न उठाए पनि अधिकांशले समर्थन जनाएका छन् ।

ADVERTISEMENT

विशेष महाधिवेशनको प्रस्ताव गरेका उपमहासचिव शर्मालाई बैठकमा बोल्ने सदस्यहरूले आत्मालोचना गर्न सुझाव दिएका छन्। तर, शर्माले आफूलेमात्र होइन अध्यक्ष प्रचण्डले समेत आत्मालोचना गर्नुपर्ने धारणा राखेका छन् ।

खासगरी जनार्दन शर्माको झाँको झार्न मात्र माओवादी स्थायी कमिटीको बैठक बसेको प्रस्ट हुन्छ । शर्माले नेतृत्वप्रति आवाज उठाउँदै आएका थिए । पार्टीका भ्रातृसंगठनमा पनि शर्मा पक्ष बलियो बन्दै गएको थियो । त्यसकारण प्रचण्ड दबाबमा थिए ।

ADVERTISEMENT

प्रचण्डले यही छेकोमा बैठक राखेर आफ्नो गुणगान गाउन लगाएर शर्माको उछितो काढ्न लगाएको विश्लेषकहरूको भनाइ छ । माओवादीको स्थायी कमिटी बैठकपछि शर्मा रक्षात्मक बनेका छन् । नेतृत्वबारे प्रश्न उठाएपछि उनले आफू आत्मालोचना गर्न तयार रहेको बताएका छन् ।

प्रचण्डको कार्यशैली र भावी नेतृत्वबारे मुखर रूपमा बोल्दै आएका उपमहासचिव शर्माको पक्षमा चार नेता मात्रै खुलेका छन् । यसरी प्रचण्डको बिपक्षमा उभिनेमा सचिव राम कार्की, स्थायी कमिटी सदस्य अञ्जना बिसंखे, पर्शुराम तामाङ र टंक राई छन् । यी पाँच नेताबाहेक अन्य सवैले प्रचण्डको बिकल्प सोच्न मात्र होइन, सुन्न पनि नसकिने अडान राखेका छन् ।