काठमाडौं । माओवादीले एकीकृत समाजवादीलगायतका वाम घटकसँग पार्टी एकता गरेर संयुक्त बैठक कात्तिक २० गते बस्ने निर्णय गरेको छ ।

आइतबार बिहान पेरिसडाडामा बसेको माओवादी सचिवालय बैठकले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसहितका वाम घटकसँग एकता गर्ने निर्णय अनुमोदन गर्दै संयुक्त अधिवेशन गर्ने निर्णयसमेत गरेको हो ।

त्यसअघि माओवादीको केन्द्रीय समिति बैठक कात्तिक १८ गते बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । स–साना वाम घटकसँगको एकता अस्वीकार गर्दै माओवादी उपमहासचिव जनार्दन शर्माले भने सचिवालय बैठक बहिस्कार गरेका छन् ।

शुक्रबारको बैठकमा पनि आफ्नो फरक राखेर हिँडेका शर्मालाई अध्यक्ष प्रचण्डले सबैको कुरा सुन्न आग्रह गर्दा पनि मानेनन् । शनिवारको बैठक बहिस्कार गरेका शर्माको शैलीलाई पार्टीले अराजक र अनुशासनहीन भनेको छ ।

शर्माले भ्रष्टाचार अभियोग लागेका माधव नेपालको समूहसँग एकता गरेकोमा असन्तुष्टि प्रकट गरेका छन् । उनले माओवादी भन्ने शब्द नै मेटाउन खोजेको भन्दै माओवादी पार्टी पुनर्गठन गर्ने घोषणा गरेका छन् । अहिलेसम्म शर्माको पार्टीमा को को सामेल हुन्छन् भन्ने खुलेको छैन । स-साना दल र समूहसँग एकता गरेर प्रचण्डले नेतृत्व छाड्न नचाहेकाे शर्माकाे दाबी छ ।

नारायणकाजी श्रेष्ठ, सुदन किराँतीसँग कुराकानी भइरहेको स्रोतले बतायो । किराँतीले प्रचण्डबाट पार्टी नचल्ने ठोकुवा गरेका छन् । श्रेष्ठले एकीकृत समाजवादीसँग तत्काल एकता नगर्न सुझाएका छन् ।