काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा विपक्षी दलका सांसदहरुले अवरोध गरेका छन् । सभामुख डीपी अर्यालले बैठक अघि बढाएसँगै विपक्षी दलका सांसदहरू उभिएर बैठकमा ध्यानाकर्षण गराए ।
सभामुख अर्यालले राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई समय दिएका थिए । त्यसपछि सभामुख अर्यालले रास्वपाका सांसद इन्दिरा रानामगरलाई बोल्न समय दिए । तर विपक्षी दलका सांसदहरूले टेबल ठोकेर ध्यानाकर्षण गरेपछि सभामुख अर्यालले कांग्रेसका सचेतक निश्कल राईलाई समय दिए ।

कांग्रेस सचेतक राईले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली नागरिकको शिर निहुराएको बताए । ‘आज सदनमा बोल्दै गर्दा मेरो शिर निहुरिएको छ । हिजो प्रधानमन्त्रीज्यूले छाती चौडा बनाउँदै बोलेको विषयले आज मेरो मात्र होइन, आमनेपाली नागरिकको शिर निहुराएको छ । यो अभिव्यक्ति नजिर बनेर स्थापित भएको छ । यो अभिव्यक्ति फिर्ता नलिएसम्म हामी सदन सञ्चालनमा सहयोग गर्न सक्दैनौँ,’ उनले भने ।
राईले भारतले भोलि नेपालले मिचेको भनेको जमिन फिर्ता मागेमा कुन दिने भन्ने प्रश्न प्रधानमन्त्रीलाई गरे । राईले थपे, ‘प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनुपर्छ कहाँकहाँ नेपालले भारतको जमिन मिच्यो । एक एक इन्चको हिसाब चाहिन्छ । भोलि भारतले आफ्नो भूमि फिर्ता चाहिन्छ भन्यो भने कुन जग्गा दिने ?’
सत्तापक्षका सांसदले प्रधानमन्त्रीको अभिव्यक्तिमा परर ताली पड्काएको भन्दै आलोचना गरे । ‘सत्तापक्षका माननीयज्यूहरूले परर ताली पड्काउनुभयो । उहाँहरूलाई पनि अलिकति आत्मग्लानि हुनुपर्छ,’ राईले भने ।





