काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा आन्तरिक किचलो उत्कर्षमा पुगेको छ । महामन्त्री धवलशमशेर राणासहित झन्डै दुई सयले राप्रपा छाडेको केही समय नबित्दै तीनजना पूर्वअध्यक्षले नेतृत्वप्रति खबरदारी गरेका छन् ।

तीन पूर्वअध्यक्ष पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टीभित्रको बेथिति, पूर्वाग्रहपूर्ण कारबाही र विधानविपरीत गतिविधिको विरोधमा केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गरेको बताएका छन् । आइतबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले असार ५ र ६ गते काठमाडौंमा बसेको बैठकमा अनुपस्थित रहनुको कारण स्पष्ट पारेका हुन् ।

ADVERTISEMENT

‘पार्टीप्रतिको प्रतिबद्धता अटल छ,’ वक्तव्यमा भनिएको छ, ‘तर सङ्कुचित सोच, पक्षपात र अनुशासनको नाममा प्रतिशोधपूर्ण कारबाहीका विरुद्ध सांकेतिक विरोध स्वरूप बैठक बहिष्कार गर्नुपरेको हो ।’ पूर्वअध्यक्षत्रयले पार्टी अहिले वैचारिक, संगठनात्मक तथा रणनीतिक चुनौतीमा रहेको उल्लेख गर्दै यथाशीघ्र स्वतन्त्र, निष्पक्ष र विश्वसनीय महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।

ADVERTISEMENT

उनीहरूले केन्द्रीय समितिको बैठकमा बाहिरी व्यक्तिलाई सहभागी गराउने अध्यक्ष राजेन्द्र लिङ्देनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरूसमेत रहेको उच्चस्तरीय स्टेरिङ कमिटी गठन गरी पार्टीभित्रको निराशा र अविश्वास अन्त्य गर्नुपर्ने उनीहरूको सुझाव छ ।

तीनै पूर्वअध्यक्षले आगामी २०८३ मंसिर २६ गते महाधिवेशन गर्ने निर्णयको स्वागत गरेका छन् र वर्तमान केन्द्रीय समितिलाई स्वतः महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्न माग गरेका छन् । ‘हाम्रो कुनै व्यक्तिगत स्वार्थ छैन । हाम्रो एक मात्र चिन्ता पार्टी कमजोर नहोस् भन्ने हो,’ उनीहरूले भनेका छन् ।

ADVERTISEMENT

पार्टी छाडेर गएकाहरूलाई फर्किन र कार्यकर्तालाई महाधिवेशन तयारीमा जुट्न आह्वान गर्दै उनीहरूले हिन्दु राष्ट्र, राजसंस्थासहितको प्रजातन्त्रलाई आधार बनाएर स्पष्ट वैचारिक मार्गदर्शन दिनुपर्ने बताएका छन् ।