काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक उम्मेदवार सूची सच्याउन माग गर्दै पार्टी कार्यालयमा तनाव भएको चछ । महिला नेतृहरूले नाराबाजी गरेपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ।

सूची सच्याउन दबाब दिन पुगेका महिला नेतृहरू र पार्टी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामाबीच कार्यालय परिसरमै झडप भएको बताइएको छ।

ADVERTISEMENT

महिला नेतृहरूले समानुपातिक सूचीमा देखिएको परिवारवाद र अवसरवादको अन्त्य गर्न माग गर्दै पार्टी कार्यालयमा विज्ञप्ति बुझाएका छन् । र, अनसनसमेत सुरु गरेका छन्। समानुपातिक प्रणालीलाई सीमित व्यक्तिको पारिवारिक स्वार्थका लागि प्रयोग गरिएको जुन पार्टीको सिद्धान्त र जनभावनाविपरीत रहेको उनीहरूको भनाइ छ ।

महिला नेतृहरूको विज्ञप्तिमा बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामा तथा राप्रपालाई अहिलेसम्म एक मत पनि नहालेकी, पार्टीको साधारण सदस्य नरहने गरी कारबाही भोगेकी खुश्बु ओलीलाई समानुपातिक सूचीबाट हटाउन माग गरिएको छ। खुश्बु ओलीलाई प्रत्यक्ष चुनाव लड्न पठाइनुपर्ने र समानुपातिक अवसर वास्तविक संघर्षशील कार्यकर्तालाई दिनुपर्ने उनीहरूको भनाइ छ।

ADVERTISEMENT

विज्ञप्तिमा परिवारका सदस्य मात्रै समानुपातिकबाट तीनजना र गठबन्धनमार्फत थप एकजना अघि सारिएको उल्लेख गर्दै महिला नेतृहरूले कडा आपत्ति जनाएका छन्।

राप्रपाले भने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संस्थागत र सर्वसम्मत निर्णय गरेको विषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा अनर्गल प्रचार भइरहेको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।

विषम परिस्थितिमा पनि पार्टीको लोकप्रियता बढ्दै गएको, देशले बलियो राष्ट्रवादी शक्तिको खोजी गरिरहेको, सम्पूर्ण राष्ट्रवादी शक्ति एकीकृत बन्दै गएको र निर्वाचन नजिकिदै गरेको समयमा पार्टीप्रति भ्रम फैलाउने, जथाभावी अभिव्यक्ति दिने, अनेकन टिकाटिप्पणी गर्ने, कार्यकर्ता विभाजित तुल्याउन लागेकाे भन्दै सजग रहन राप्रपाले समग्र पार्टी पंक्तिलाई आग्रह गरेको छ ।