वीरगञ्ज । पर्साको वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको तथा आफैँ जुवा खेलेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फर्च्युन सिटी गेमिङ क्लब प्रालिमा बिहीबार राति प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो । सो क्रममा जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जुवा खेलिरहेको अवस्थामा भेटिएका ९ जना छन् । उनीहरूमा वीरगञ्ज महानगरपालिकाका विजय अग्रवाल, सन्तोष कुमार यादव, अनुराग कुमार र दीपक साह छन् ।
त्यस्तै पर्साको गढीमाई गाउँपालिकाका दिनेश साह, बाराको कलैया उपमहानगरपालिकाका नरेश प्रसाद, काभ्रेको महाभारत गाउँपालिकाका गुन्जमान मोक्तान, सिन्धुलीको मरिन गाउँपालिकाका विनोद कुमार र काठमाडौंको शंखरापुर नगरपालिकाका राजेश श्रेष्ठ पनि पक्राउ परेका छन् ।
यसैगरी नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा थप तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिकाका तिलक प्रसाद भट्ट, वीरगञ्ज महानगरपालिकाका प्रभु साह तुरहा र सिरहाको धनगढीमाई नगरपालिकाका दीपक राज पराजुली रहेका छन् ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लद्वारा जारी विज्ञप्तिमा घटनाबारे थप अनुसन्धान भइरहेको उल्लेख छ ।












