काठमाडौं । साताको चौथो दिन बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। बुधबार सकारात्मक भएर बन्द भएको नेप्से आज भने घटेर बन्द भएको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.०६ अंक घटेर २७००.४७ विन्दुमा झरेको छ।
१३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ । बैंकिङ, वित्त, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बुधबार तीन अर्ब ६३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । आज ३४७ स्टकको ४१ हजार १०४ पटकको कारोबारमा तीन अर्ब ४१ करोड ४८ लाख २३ हजार रुपैयाँबराबरको ७७ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
बिहीबार आँखु खोला जलविद्युत कम्पनीको ३१ करोड ९८ लाख ४७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। युनाइटेड मोदी हाइड्रोपावरको २३ करोड रुपैयाँभन्दा बढी र सिईडिबी होल्डिङ्गसको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।
आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। एपोलो हाइड्रोपावर र सोपान फर्मास्यूटिकल्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे १२ प्रतिशत बढेको छ । बुंगल हाइड्रोको सेयरमूल्य साढे ८ प्रतिशत बढेको छ।






