काठमाडौं । सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्बासी बस्ती हटाउने काम काठमाडौं उपत्यका हकमा पूर्णता पाएको छ ।

यस क्रममा मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजु लगायतका क्षेत्रमा रहेका अव्यवस्थित बस्तीहरू हटाइसकिएको छ । बस्ती हटाइएका स्थानहरू अहिले पूर्ण रूपमा खुला र खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूप समेत परिवर्तन भएको छ ।

ADVERTISEMENT

बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार तथा शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली भएका स्थानहरूको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न काम अघि बढाएका छन्।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण तथा काठमाडौं महानगरपालिकाले संयुक्त रूपमा खाली भएका क्षेत्रको संरक्षण, हरियाली प्रवर्द्धन, नदी किनार व्यवस्थापन तथा पुनः अतिक्रमण हुन नदिने उद्देश्यले आवश्यक संरचना निर्माण तथा निगरानीका कार्यहरू सञ्चालन गरिरहेका छन्।

ADVERTISEMENT

नदी किनार तथा सार्वजनिक जग्गाको दीर्घकालीन संरक्षणका लागि तारबार, वृक्षारोपण, पैदलमार्ग निर्माण, सौन्दर्यीकरण तथा नियमित अनुगमनका कार्यक्रमहरू कार्यान्वयनमा ल्याइएको छ। साथै खाली गरिएका क्षेत्रमा पुनः अवैध बसोबास हुन नदिन सुरक्षा तथा निगरानी व्यवस्था पनि कडा बनाइएको जनाइएको छ।