काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि त्रिपुरेश्वरस्थित रंगशालामा नाम टिपाउने परिवारको संख्या ५४७ पुगेको छ।

बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले दुई दिनदेखि रंगशालामा बसेर सुकुम्बासी परिवारहरूको विवरण संकलन गरिरहेका छन्। आइतबार साँझ साढे ६ बजेसम्म ५४७ परिवारले नाम टिपाएको तथ्यांक सार्वजनिक गरिएको छ।

प्राधिकरणतर्फ २१७ परिवारले नाम टिपाएका छन्। तीमध्ये थापाथलीका ७२, शान्तिनगरका ६२, गैह्रीगाउँका ४४ र मनोहराका ३९ परिवार रहेका छन्। त्यस्तै बागमती सभ्यता एकीकृत विकास समितितर्फ ३३० परिवारले नाम टिपाएका छन्, जसमा २१८ परिवारको रूजु भइसकेको छ। रूजु भएका परिवारमध्ये थापाथलीका ६६, गैह्रीगाउँका ४३, सिनामंगलका २१, शान्तिनगरका ५८ र मनोहराका ३० परिवार रहेका छन्।

ADVERTISEMENT

समिति र प्राधिकरणले रंगशालाको पश्चिमतर्फ छुट्टाछुट्टै डेस्क राखेर फारम भराउने काम गरिरहेका छन्। रंगशालामा सुकुम्बासीहरूको स्वास्थ्य परीक्षण तथा खानपानको व्यवस्था समेत गरिएको छ, जसको समन्वय काठमाडौं महानगरपालिकाले गरिरहेको छ।

ADVERTISEMENT

विवरण संकलन प्रक्रिया पूरा भएपछि भूमिहीन तथा आवासहीन परिवारलाई व्यवस्थापनका लागि पाँच वटा होल्डिङ सेन्टरमा राखिने बागमती सभ्यता विकास परियोजनाका सामाजिक परिचालक कुमार सिंखडाले जानकारी दिएका छन्।